कांग्रेसले एमालेबाहेक सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने

कांग्रेसले एमालेबाहेक सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने
राजनीति

त्तारुढ दल नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेबाहेकका सबै दलसँग तालमेल गर्ने जनाएको छ । दुई नम्बर प्रदेशमा एक्लै चुनाव लड्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै कांग्रेसले तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

उक्त निर्णयलाई सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सार्वजनिक गर्दै कांग्रेस नेता एनपी साउदले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमालेबाहेक सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने गरी तयारीलाई तिब्र बनाएको जानकारी दिए । साउदले भने, ‘पहिलो र दोस्रो चरणको निर्वाचन जस्तै तेस्रो चरणको निर्वाचनमा पनि कांग्रेसले तालमेल गर्छ तर नेकपा एमाले बाहेकका दलहरुसँग मात्रै ।’

उनले कांग्रेसले पहिलो प्राथमिकतामा राजपासँगको तालमेललाई राखेर छलफल गरिरहेको भन्दै माओवादी र अन्य मधेसवादी दलहरुसँग पनि तालमेल हुन सक्ने स्पष्ट पारे ।

साउदले दुई नम्बर प्रदेशको निर्वाचनमा तालमेल गर्नेगरी राजपासँग नेता विमलेन्द्र निधीले कुराकानी गरिरहेको भन्दै अब प्रधानमन्त्रीले पनि छलफल थाल्ने बताए ।

मधेस मधेसको आधार भूमि रहेकोले त्यहाँ कसैले कांग्रेसलाई रोक्न नसक्ने दावी गर्दै उनले भने, ‘मधेस कांग्रेसको जग हो । त्यहाँ सधै झै फेरि कांग्रेस नै एक नम्बर पार्टी बन्छ । हामी अहिले सबै निर्वाचनको तयारीमा पूर्ण रुपमा जुटिसकेका छौ ।’

साउदले प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै सम्पन्न भारत भ्रमण ऐतिहासिक भएको दावी गर्दै बीपी कोइराला पछि भारतसँग नेपालको राष्ट्रिय स्वार्थमा सिधा कुरा राख्न सक्ने नेता देउवा भएको दावी गरे ।

उनले भने, ‘यो भ्रमणले मुलुकको शिर सगरमाथा जस्तै उच्च भएको छ । गर्वले नेपाली जनताको छाती फुलेको छ । यो भ्रमणले नेपाली जनताको जित भएको छ ।

साउदले, ‘बाहिर हल्ला गरिएजस्तो राष्ट्रिय हित विपरित कुनै सम्झौता नभएकोले भ्रमणलाई अनावश्यक कुरा गरेर विवादित नबनाउँन आग्रह गर्दै विश्वका ठूला ठूला देशका नेताहरुले समेत यस्ता भ्रमणमा आफ्ना देशको बास्तविकता बताउने प्रचलन रहेकोले देउवाले संविधान संशोधनको विषयमा बोल्नु उचित रहेको दावी गरे ।

Post Comment