देशलाई एकतावद्ध गर्ने पार्टी माओवादी नै हो :-प्रचण्ड

देशलाई एकतावद्ध गर्ने पार्टी माओवादी नै हो :-प्रचण्ड
राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा माथिबाटै घटुवाको प्रारम्भ गरेको बताएका छन् । १ नम्वर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी संगठन भद्रगोल हुँदा क्षति पुगेकाले चुस्त संगठन निर्माणतर्फ आफू केन्द्रित भएको बताए ।

‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं’, प्रचण्डले भने, ‘त्यसको मुख्य कारण भद्रगोल संगठन हो । अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।’

प्रचण्डले पार्टीबाट अलग भएका मोहन वैद्य किरण, बाबुराम भट्टराई, विप्लवलगायत समूहलाई जनताले अस्वीकृत गरेको भन्दै पार्टीमा नफर्किए भविष्य समाप्त हुने ठोकुवा गरे । ‘माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले रुचाएनन् । वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले माओवादी केन्द्रमै जाउ भन्ने जनमत दिए’, प्रचण्डले भने, ‘हामीलाई पनि तिमीहरुले अहङ्कार नगर, सबैलाई मिलाऊ भन्ने जनमत दिए । धेरै साथीहरु आई पनि सक्नुभएको छ, अब नेताहरु पनि आउनुपर्छ, नत्र उहाँहरुको पनि भविष्य छैन ।’

माओवादीका कारण देशको एकता र समृद्धि सम्भव भएको भन्दै प्रचण्डले अगाडि थपे – एकभरि मान्छेहरु माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे । तर, हामीले १० महिनामा त्यो भ्रमलाई पुरै गलत साबित गर्यौं । हामीले देशलाई एकतावद्ध गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’

प्रचण्डले मधेसमा माओवादीको लहर आएको समेत दावी गरे । ‘११ वर्षपछि मधेशमा जागरण आएको छ । गौर हत्याकाण्ड घटाएर मधेशमा माओवादीलाई संघीयता विरोधी भ्रामक प्रचार गरे । अहिले परिस्थिति बदलिएको छ, मधेशको मित्र, देशलाई एकतावद्ध गर्ने पार्टी माओवादी नै हो भन्ने स्थापित हुँदैछ, यो हाम्रा लागि खुसीको कुरा हो । जति सुकै षडयन्त्र गरे पनि एकदिन सत्य स्थापित हुने रहेछ, त्यो प्रमाणित हुँदैछ’, प्रचण्डले भने ।

Post Comment