प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा विवादमा हुँदा सत्तारुढ नेपाली कांग्रेसमा कुटाकुट भएको छ ।
टिकट वितरणमा विवाद हुँदा मंगलबार नेपाली कांग्रेस सिरहाको कार्यालयमै सभापति शेरबहादुर देउवा (संस्थापन) र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको हो ।
कुटाकुटमा पौडेल समूहकी कोषाध्यक्ष सितादेवी यादव निकट नेता र संस्थापनतर्फका जिल्ला सभापति रामचन्द्र यादवले नेतृत्व गरेका थिए ।
सिरहा सदरमुकाम स्थित नेपाली कांंग्रेसको पार्टी कार्यालयमा टिकट वितरणमा जिल्ला सभापति रामचन्द्र यादबले अनियमितता गर्न खोजेपछि झडप भएको हो ।
केन्द्रले टिकटको सिफारिश गरेका वडा अध्यक्षका उम्मेदबारलाई टिकट नदिई सभापति यादबले आफ्ना मान्छेलाई टिकट दिन खोज्दा झडप भएको काँग्रेसका जिल्ला नेता नरेस यादबले जानकारी दिए ।
झडपमा ८ नेता घाईते भएका छन् । घाईते मध्ये राजेसर यादब, मुकेश यादब, बुधन यादब, सर्दिप यादब र जगदीश यादबको अबस्था गम्भिर भएकोले बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाईते अन्य तीन जनाको उपचार जिल्ला अस्पताल सिरहामा भईरहेको छ ।
झडपका क्रममा जिल्ला सभापति यादबमाथि समेत हातपात भएको थियो । अहिले सो ठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।