माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसभित्रको अराजकताबादी समुह बाधक रहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय नेपाली कांग्रेस संगठित पार्टी भन्दा पनि अराजकतासहितको बर्गको भीड जस्तो बनेको टिप्पणी गरे । २ नम्बर प्रदेशको स्थानीय चुनावमा कांग्रेस –माओवादी तालमेल अन्तिम समयमा आएर रोकिएको थियो ।
तालमेल हुन नसक्नुको रहस्य खोल्दै उनले भने ‘कांग्रेस भित्रको अन्र्तकलहले गर्दा चुनावी तालमेल हुन सकेन । एमालेसँग तालमेल गर्दा फाइदा नहुने देखेर बल नगरेको हो, किनभने एमालेलाई मधेसका जनताले रुचाएका छैनन्, त्यतातर्फ मैले त्यति बल पनि गरिनँ । मधेस पहाड हिमाल जोड्न पनि एमालेसँग तालमेल गर्नु ठिक थिएन । निजगढ र ढलकेबरमा चाहिँ भयो । हाम्रो प्रभाव भएका ठाउमा उसले हामीलाई मेयर दिन मानेन । लालबन्दी र सिमरा जितपुरमा तालमेल भैसकेको थियो तर कांग्रेसकै कारण भएन ।’
प्रचण्डले एमालेले राष्ट्रबादको भ्रम दिएको बताए । ‘राष्ट्रबादी को भन्ने अव जनताले बुझ्छन् त्यसकारण कांग्रेसको अराजकबादी चरित्रका कारण तालमेल हुन सकेन,’ उनले भने ।
अध्यक्ष प्रचण्डल कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगरेर गल्ती गरेको भन्दै उसले भविश्यमा ठुलो क्षती व्यहोर्नुपर्ने चेतावनी पनि दिए । उनले कांग्रेसलाई आफुले जे गरेपनि हुन्छ भनेर सोच्नु अहंम भएको भन्दै त्यसो नगर्न सुझाव पनि दिए ।
कांग्रेससँग चुनावी तालमेल नभएपनि माओवादी केन्द्र मधेसमा पहिलो पार्टी बन्ने आधार प्रस्तुत गरे ।
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन परिणामले केन्द्रको राजनीति पनि प्रभावित हुने बताए ।
उनले भने ‘स्थानीय चुनाव परिणामका आधारमा केन्द्रमा हुने चुनावको रणनीति बन्छ त्यसकारण पनि यो महत्वपुर्ण छ ।’ माओवादी यसअघि तेस्रो स्थानमा भएपनि मतान्तर धेरै घटि नरहेको प्रचण्डको भनाई छ ।
उनले अवको विकल्प माओवादी नै हो भनेर जनताले भनेको भन्दै त्यसैका लागि आफू मधेसमा बढि नै सक्रिय भएको पनि प्रष्ट पारे । उनले कांग्रेस एमालेको बीचमा सत्ताको चावि माओवादीसँग भएको जिकिर पनि गरे । ‘हामीले गरेका जनताका कामबाटै अर्को चुनावमा माओवादी निर्विकल्प पहिलो शक्ति बन्छ ।’
आफ्नो जनयुद्धकालदेखि मधेसमा लभ परेको प्रचण्डले दोहोर्याए । ‘मैले पहिला पनि भनेको थिए मधेसमा मेरो लभ परेको छ । त्यो मैले त्यसै भनेको होइन, मैले जनयुद्धको तालिम पनि मधेसमै गरें । जतिवेला मधेसका पिता रामबृक्ष यादवको हत्या भयो त्यसपछिमात्रै पहाड तातेको हो । जनयुद्धताका मोर्चा गठनदेखि जनसरकार गठनसमेत पहिला मधेसमै भएकाले मेरो मधेसँग विशेष सम्बन्ध भएको हो ।’
अध्यक्ष प्रचण्डले राजामहाराजाका पालादेखि नै मधेस र मधेसी जनता पछाडि र अपहेलना हुने गरेकाले उनिहरुको सम्बृद्धिमा आफुले बिशेष ध्यान दिएको प्रष्ट पारे ।