नेपाललाई हिन्दूराष्ट्र बन्न नदिने षडयन्त्र भैरहेको छ:-राप्रपा अध्यक्ष कमल थापा

नेपाललाई हिन्दूराष्ट्र बन्न नदिने षडयन्त्र भैरहेको छ:-राप्रपा  अध्यक्ष कमल थापा
राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश भ्रष्टाचारबाट ग्रस्त भएको भन्दै न्यायालयदेखि देशका हरेक संस्थाहरुप्रतिको आस्था हराउँदै गएको बताएका छन् ।

बुधबार पोखरामा राप्रपाको पश्चिमाञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिने पार्टीका कुनैपनि नेताहरु चोखो नरहेको दाबीसमेत गरे । अध्यक्ष थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दूराष्ट्र बन्न नदिने षडयन्त्र भएको जिकिर गरे ।

पार्टी विभाजन देशी–विदेशी शक्तिको ‘डिजाइन’अनुसार नै भएको उनको भनाइ थियो । उनले ‘स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत सफलता पाउन नसक्नुमा पार्टीका एजेन्डाहरु जनस्तरसम्म पुर्‍याउन नसक्नु, पार्टी संगठन कमजोर र निर्वाचनका लागि आवश्यक तयारी गर्न नसक्नु नै हो’–भने ।

दुई दिनसम्म चल्ने सो भेलामा सो क्षेत्रका १६ ओटै जिल्लाका जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका अध्यक्षहरुको सहभागिता रहेको छ ।

Post Comment