माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्तिसँग कुनै पनि हालतमा कार्यगत एकता हुन नसक्ने बताएका छन् । गोरखा क्षेत्र नम्वर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइ उठ्ने चर्चा चलिरहेको बेला प्रचण्डले गोरखामा नयाँशक्ति वा अन्य कुनै दलसँग पनि माओवादी केन्द्रले चुनावमा तालमेल नगर्ने प्रष्ट पारेका हुन् ।
कार्यकर्ता प्रशिक्षणका लागी गोरखा आएका प्रचण्डले प्रेस सेन्टर नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा भने ‘बाबुरामलाई दुइ नम्वरमा छाड्ने कुरा हुँदैन, यति राम्रो आधार भएको ठाउँमा हामी गोरखामा कसैसँग पनि चुनावी तालमेल गर्दैनौँ, हामीलाई कसैले छाड्नुहुन्छ भने धन्यवाद दिन्छौँ ।’ देशका अन्य ठाउँमा भने आवश्यकताको आधारमा तालमेल हुन सक्ने दाहालको भनाइ छ । क्षेत्र नम्बर दुइमा बावुरामलाई छाड्ने चर्चा छ नी भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले बाबुरामलाई छाड्न नसक्ने जवाफ दिएका हुन् । उनले क्षेत्र नम्वर दुइमा नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरि अधिकारी वा अन्य जो कोही भएपनि पार्टीको निर्णय अनुसार विवादरहित तबरले चुनाव लड्ने बताए ।
बाबुराम भट्टराइको नयाँशक्ति पार्टी, मोहन वैद्यको क्रान्तिकारी माओवादी र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकताको कुरा गरेपनि पर भागेको उनले आरोप लगाए । ‘बाबुराम, वैद्य, विप्लव अलग बस्नुको औचित्य सकियो, पार्टी एकता गरौँ भन्दा उहाँहरु पर पर जानुभयो,’ उनले भने । पहाडमा भन्दा बढी तराइका मतदाता निर्वाचनको लागी उत्साहित रहेको पनि प्रचण्डले बताए । ‘तेस्रो चरणको चुनाव पनि शान्तिपुर्ण रुपमा भयो, पहाडको चुनावमा भन्दा तराइको चुनावमा जनसहभागीता बढेको छ,’ प्रचण्डले भने ‘पहाड र तराइको दुरी बढ्ने हो की भन्ने चिन्ता थियो, वढो राम्रो वातावरणमा निर्वाचन सम्पन्न हुनेले मधेस पहाड तराइ एकतावद्घ रह्यो भन्नेमा शंका गर्ने ठाउँ छैन ।’
संघीय चुनावमा आफु चितवनबाटै लड्ने इच्छा रहेको पनि प्रचण्डले दोहोर्याए । चुनाव अघि सरकार परिवर्तन हुनै नसक्ने दाहालको भनाइ छ । ‘चुनाव अघि सरकार परिवर्तत हुनै सक्दैन, चुनाव भनेको संविधान कार्यान्वयनको कुरो हो परिवर्तनलाई गति दिन पनि चुनाव हुनुपर्छ,’उनले भने । संविधान कार्यान्वयनको संवेदनशिल पक्षको रुपमा चुनावलाई लिएको दाहालको भनाइ छ ।