नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दाबी गरेका छन् ।
नवलपरासीमा नेकपा एमाले, सुनवल नगर कमिटीले बुधबार सुनवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले यस्तो विचार व्यक्त गरेका हुन् ।
सो अवसरमा नेता ज्ञवालीले विगतका सबै कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई पहिलो बनाउने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।
उहाँले अब प्रदेश र केन्द्रमा पनि एमालेले बहुमत ल्याएर एमालेकै सरकार बन्ने जिकिर गरे । नेता ज्ञवालीले प्रदेश नं २ को चुनावमा सिट संख्याको हिसाबले कमजोर देखिए पनि समग्र भोटको हिसाबले एमाले दोस्रो नम्बरमा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर्क गर्नुभयो ।
एमालेलाई निषेध गर्दा पनि एमालेको पक्षमा जनलहर देखिनुले जनता एमालेप्रति आशावादी छन् भन्ने प्रमाणित भएको उनको जिकिर थियो ।