नेकपा एमाले चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्लाबाट उम्मेदवार दिएको अवस्थामा सहयोग गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
मुलुकका लागि प्रचण्डको भूमिका जरुरी रहेको र जिल्लाको विकास निर्माणका लागि समेत प्रचण्डको जित आवश्यक भएको निस्कर्ष एमाले चितवनको छ । एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले बामपन्थी एकता मुलुकको आवश्यकता भएकाले चितवनमा प्रचण्ड र दुई दलबीच कुन नेतालाई कहाँबाट जिताउने भन्नेबारे सहमति जरुरी रहेको बताए । उनले आफूहरुले एमालेको केन्द्रलाई समेत बाम एकता गरेर जान अपिल गरिसकेको उल्लेख गरे ।
‘एमाले चितवन हामी बामपन्थी एकताको पक्षमा छ’, पोखरेलले भने, ‘नेकपा एमाले चितवन केन्द्रसँग पनि यही अपिल गर्दछ ।’ उनले बामपन्थी शक्ति नमिल्दा मुलुक अस्तव्यस्ततातर्फ अघि बढेकाले मिल्नुको विकल्प नरहेको स्पष्ट गरे । ‘हामी हिजो पनि मिलेकै हौं, विगतमा सहयात्रालाई अगाडि बढाउने सन्दर्भमा कसबाट कहाँ कमजोरी भए त्यसको समीक्षा पनि गरौं’, उनले भने, ‘हामी मिलेर जानुको विकल्प छैन ।’ पोखरेलले एमालेका लागि माओवादीसँग मिलेरै जानु अहिलेका लागि हितकर हुने निस्कर्षमा आफूहरु पुगेको बताए ।
चितवनबाट प्रचण्डलाई जिताउन आफूहरु तयार रहेको भन्दै उनले तालमेल र सहकार्यको निण्र्ढाय भने केन्द्रले गर्नुपर्ने बताए । ‘प्रचण्ड कमरेडलाई हामी चितवनबाट जिताएर पठाउन तयार छौं । कुन पार्टीका को नेता कहाँबाट उठ्ने भन्ने टुंगो लगाएर सबै जित्ने अवस्था बनाउन सकिन्छ’, उनले भने । एमाले अध्यक्ष केपी ओलीले प्रचण्डसँग भरतपुर महानगरपालिकामा मेयरमा पराजित देवी ज्ञवालीलाई प्रचण्डसँग भिडाउनेबारे निकटवर्तीसँग छलफल गरिरहेका बेला पोखरेलको यस्तो भनाइ आएको हो । पोखरेल एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर हुन् ।
हालै सम्पन्न एमाले केन्द्रीय समिति बैठकमा नेता नेतालले पूर्वसहमतिअनुसार माओवादीलाई प्रधानमन्त्री नदिँदा बाम एकता तोडिएको जिम्मेवारी एमालेले लिनुपर्ने भन्दै अब मिलेर जानुको विकल्प नभएको बताएका थिए ।