स्थानीय तहको निर्वाचन सकिन नपाउँदै मंसिरमा हुने प्रदेश तथा केन्द्रको निर्वाचनका लागि दलहरु गृहकार्यमा जुटेका छन् । समानुपातिक सांसद चयनदेखि लिएर प्रत्यक्षमा क–कसलाई टिकट दिने भनि दलहरुमा गृहकार्य शुरु भएको छ ।
यसैक्रममा छवटा दल मिलेर बनेको राजपा नेपालमा पनि चुनाव को लड्ने नलड्ने भन्ने विषयमा चर्चा शुरु भएको छ ।
स्रोतका अनुसार राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर यसपटक चुनाव नलड्ने मुडमा देखिएका छन् । दुईटै संविधानसभा चुनावमा पराजित ठाकुरले अब चुनाव नलड्ने कुरा पार्टीमा राखेका छन् । महत्थको भनाईमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनाव नलडेपनि समानुपातिबाट ठाकुरलाई सांसद बनाउनुपर्ने बताएका छन् ।
तर अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले अध्यक्ष मण्डलमा रहेका सबै सदस्यले चुनाव लड्नुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष मण्डलका सबैजना सदस्य चुनाव लडे मात्र जनतामा राम्रो सन्देश जाने भएकाले चुनावबाट कोही पनि भाग्न नहुने धारणा उनले राखेको एक नेताले रातोपाटीलाई बताए ।
महन्थ ठाकुरले स्वास्थ्यको अवस्था देखाउँदै आफू चुनाव पनि नलड्ने र समानुपातिकबाट पनि नआउने कुरा राखेको बताइएको छ ।
त्यस्तै, सो पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र अनिल झा पनि समानुपातिकमा बस्ने मुडमा रहेको स्रोतले जनाएको छ । यद्यपी उनीहरुले पार्टीमा आधिकारिक कुरा राखेका छैनन् । राजेन्द्र महतो, शरतसिह भण्डारी, महेन्द्र राय यादव चुनाव लड्ने तयारीमा छन् ।