नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिन नै आफूहरुले बृहत्त लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारेका छन् ।
बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा डा. खड्काले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो रुपमा नलिएको बताउँदै राजनीतिक विकास क्रममा टुट्फुट र जुट भैरहने बताए । उनले भने,‘राजनीतिक धु्रवीकरणको विषयलाई यसरी उछाल्नु जरुरी छैन् ।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेको समेत बताए ।
उनले थपे,‘बास्तवमा मलाई प्रचण्डजीप्रति दया लागेको छ, हुन त उहाँले यो वर्षको दशैंमा(सायद २२ वर्षपछि होला टिका लगाएर साईत हेरेर माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमत्कार नै गर्नुभयो ।’ जनयुद्ध र क्रान्तिको ईतिहाँस बोकेको पार्टी ४० मा खुम्चिनु भनेको क्रमिक रुपमा हराएर जानु नै हो भन्ने उनको दाबी थियो ।
नेता खड्काले एमाले–माओवादी केन्द्रवीचको चुनावी सहकार्य र एकताप्रयासलाई राँके भुतको संज्ञा समेत दिए । उनले थपे,‘मेरो विचारमा यो गठबन्धन लामो समय जाँदैन, चुनाव आउँदैछ, हेर्दै जानुहोला टिकट वितरणमा सबै देखिहालिन्छ।’
यद्धपी उनले वाम गठबन्धन र तीन पार्टीवीचको एकता प्रयासबाट अहिल्यै नै अत्तालि हाल्नुपर्ने अवस्था भने नरहेको जिकिर गरे ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फुर्के नेताको संज्ञा समेत दिए । उनले भने,‘उहाँ फुर्के नेताहुन्, अहिले उनमा त्यही देखियो।’
नेता खड्काले तोकिएकै मितिमा निर्वाचनहुने समेत विश्वास दिलाए ।