पूर्ब डिआइजि नवराज सिलवालले भने:-“जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले”

पूर्ब डिआइजि नवराज सिलवालले भने:-“जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले”
राजनीति

नेपाल प्रहरीको डीआइजी पदबाट राजिनामा दिएका नवराज सिलवाल शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन्। काठमाडौंमा एमाले‍का अध्यक्ष केपी ओलीले सिलवाललार्इ टीका र खादा लगाएर स्वागत गरे।डीआइजीबाट राजीनामा दिएका सिलवालको राजनीतिक यात्रा अब औपचारिक रुपमा सुरु भएको छ।

पार्टी प्रवेशका क्रममा सिलवालले भावुक मन्तव्य राखे। मन्तव्यको उनको भाषा कर्मकाण्डी थिएन बरु मिठासपूर्ण र दार्शनिक प्रकृतिको थियो।सिलवालले आफ्नो मन्तव्य लेनिनको भनाइबाट शुरु गरे। लेनिनको भनाइमार्फत नै उनले आफू राजनीतिमा प्रवेश गर्नुको कारणबारे जवाफ दिए। ‘लेनिनको एउटा उक्ति छ, यदि तपाईँले राजनीतिलाई हस्तक्षेप गर्नुभएन भने राजनीतिले तपाईँको जीवनमा हस्तक्षेप गर्छ’, सिलवाल दार्शनिक सुनिए,‘मेरो जीवनमाथि पनि धेरै ठूलो राजनीति भयो।’

उनकै शब्दमा ‘युगपुरुष’ केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेपछि उनले भाषण टुङ्ग्याउँदै धन्यवाद भने । फेरि के सम्झिए कुन्नि, माइक समातेर हात उठाउँदै भने-लाल सलाम ।

प्रहरीले भन्ने गरेको जय नेपाल शब्दलाई राजनीतिक दलहरुमा कांग्रेसले प्रयोग गर्छ । कांग्रेसबाट अन्यायमा परेको गुनासो गर्दै आएका सिलवालले शुक्रवारबाट बिधिवत रुपमा जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले ।उनले सम्झी सम्झी लालसलाम भनेपछि बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ताली र सुसेलाको गडगडाहट सुनियो ।

पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका सिलवाललाई एमाले कार्यकर्ताले ओलीलाई भन्दा बढी ताली र हुटिङबाट स्वागत गरे । ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवाल पार्टी प्रवेश भने काठमाडौं जिल्ला कमिटीको कार्यक्रममार्फत गरे ।

Post Comment