राजपाका नेतालाई भेटेर भाजपाका नेताले यसो भने

राजपाका नेतालाई भेटेर भाजपाका नेताले यसो भने
राजनीति

पाल भारत प्रबुद्ध समूहमा भाग लिन शुक्रबार नेपाल आइपुगेका भारतीय जनता पार्टीका नेता एवं सांसद भागत सिंह कोशियारीले नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।

नेपालको राजनीति तरल अवस्थामा रहेको बेला कोशियारीले नेपालका शीर्षस्थ नेताहरुलाई भेट्ने योजना बनाएका छन् ।
लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेका कोशियारीले भेट्ने नेताहरुलाई सो गठबन्धनको पक्षमा लाग्न सुझाव दिएको स्रोतले जनाएको छ । तोकिएका समयमा चुनाव हुनुपर्ने पक्षमा भारत रहेको उल्लेख गर्दै कोशियारीले लोकतान्त्रिक पक्षधर सबै एकैठाउँमा आए वामपन्थी गठबन्धनले केही गर्न नसक्ने धारणा राखेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य सीताराम अग्रवाल र बीपी यादवले कोशियारीलाई आज भेटेका छन् । सो भेटमा पनि उनीहरुलाई लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन सुझाव दिएका छन् । लोकतान्त्रिक गठबन्धन बलियो भयो भने मात्र देशले विकास गर्न सक्ने धारणा कोशियारीको रहेको नेता अग्रवालले बताए ।
भेटघाटपछि रातोपाटीसँग कुरा गर्दै अग्रवालले भने, ‘कोशियारीजी लोकतान्त्रिक गठबन्धनको पक्षमा हुनुहुन्छ, अन्य दललाई पनि सो गठबन्धनमा लाग्न सल्लाह दिनुहुन्छ ।’
कोशियारीले वाम गठबन्धन आजको योजनाले बनेको होइन, यो गठबन्धन बनाउने धेरै पहिलादेखिको योजना थियो र अहिले आएर बनेको कुरा पनि खुलासा गरे ।
कोशियारीले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत काँग्रेसका अन्य शीर्षस्थ नेता, अन्य दलका नेताहरुलाई भेट्ने कार्यक्रम बनाएका छन् । तर कहिले कोसँग कहाँ भेट्ने खुलाएको छैन ।
भाजपाका प्रभावशाली नेता रहेका कोशियार नेपाल मामलाको जानकार नेता समेत मानिन्छन् ।
नेता कोशियारी र्डिशन होटलमा बसेका छन् ।

Post Comment