प्रदेश–७ मा चुनावी सरगर्मी :ठूला दलले चुनावी तयारी तीव्र बनाए

प्रदेश–७ मा चुनावी सरगर्मी :ठूला दलले चुनावी तयारी तीव्र बनाए
राजनीति

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक देशैभरि सुरु भएको छ ।

प्रमुख शीर्ष नेताहरुको गृहजिल्ला भएको हुनाले पनि प्रदेश नम्बर–७ को चुनावी माहोललाई विशेष किसिमबाट हेरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक प्रदेश नम्बर–७ का जिल्लाहरुसमेत जोडतोडले तातेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम डडेल्धुराबाट सिफारिस भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको नाम अछाम क्षेत्र नम्बर–१ बाट सिफारिस भएको छ ।

प्रधानमन्त्री देउवा पत्नी आरजु राणा बर्दिया र कैलालीबाट सिफारिसमा परेकी छन् ।

एकीकृत माओवादीका नेता एवं प्रदेश नम्बर–७ का संयोजक लेखराज भट्ट कैलाली क्षेत्र नम्बर–५ बाट चुनाव लड्दैछन् ।

सिफारिसमा परेकाहरु टिकटका लागि नेता र मतदाता दुवैको घरदैलोतिर लाग्न थालेका छन् ।

दलहरुले उम्मेदवार सिफारिस गरेलगत्तै चुनावी सरगर्मी बढ्न थालेको छ । अझ लोकतान्त्रिक र वाम गठबन्धनको प्रयासले राजनीति नयाँ ध्रुवीकरणमा फसेको छ ।

स्थानीय तह निर्वाचनलगत्तै प्रदेश र संसदीय निर्वाचन हुन लागेकाले मतदाता पनि उत्साहित देखिन्छन् ।

चुनावसँगै आफ्नो क्षेत्रमा विकासका गतिविधि बढ्ने विश्वास मतदाताको छ ।

सक्षम, विकासप्रेमी र भ्रष्टाचार नगर्ने नेतालाई उम्मेदवार बनाउनुपर्ने सुझाव मतदाताको छ ।

नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलले ७ नम्बर प्रदेशमा चुनावी तयारी तीव्र बनाएका छन् ।

कांग्रेसका नेता रमेश लेखक कन्चनपुर–३, एनपी साउद कन्चनपुर–२ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर डोटीबाट प्रतिनिधिसभा निर्वाचनमा सिफारिसमा परेका छन् ।

केन्द्रीय समितिले सबै उम्मेदवारको नाम तय गरेपछि प्रचारमा ओर्लने कांग्रेसको भनाइ छ ।

एमाले पूर्वमन्त्री कर्णबहादुर थापा बाजुरा र भानुभक्त जोशी बझाङबाट चुनाव लड्दैछन् ।

एमाले नेता प्रेम आलेको नाम डोटीबाट सिफारिस भएको छ भने माओवादी नेता खगराज भट्टको नाम डडेल्धुराबाट सर्वसम्मत् पठाइएको छ ।

निर्वाचनमा वाम गठबन्धन हुने भएपछि कम्युनिष्ट वृत्तमा उत्साह थपिएको छ ।

प्रदेश नम्बर–७ मा १६ ओटा निर्वाचन क्षेत्र छन् । सबैभन्दा बढी कैलालीमा ५, कन्चनपुरमा ३, अछाममा २, डोटी, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुरामा एक/एक क्षेत्र निर्धारण गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यहाँ १४ लाख मतदाताले मतदान गर्नेछन् ।

७ नम्बर प्रदेशका दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मंसिर १० गते निर्वाचन हुँदैछ भने कैलाली, कन्चनपुर डडेल्धुरा, अछाम र डोटीमा मसिर २१ गते निर्वाचन हुँदैछ ।

Post Comment