विना विभागीय मन्त्री शिवकुमार मण्डलले शेरबहादुर देउवाको इच्छा अनुसार माओवादीबाट मन्त्री बनेकाहरु विनाविभागीय बन्त्री बनाइएको आरोप लगाएका छन् । यसअघि आपूर्ति मन्त्री रहेका मण्डलले वाम गठबन्धनबाट आत्तिएर देउवाले आफूहरुलाई बिना विभागीय बन्त्री बनाएकोसमेत बताए ।
नेकपा माओवादी केन्द्रले देउवालाई चिन्न नसकेको बताएँदै मन्त्री मण्डलले भने, “इतिहासमा समय समयमा विशिष्ट प्रकारका घटना घटाउँदै आएको पात्र पनि हो । हामीले चिन्न अलिकति भूल गरेका रहेछौँ देउवालाई ।”
आफूहरुले देउवालाई प्रधानमन्त्री बन्नका लागि सहयोग गरेको बताउदै मण्डलले देउवालाई कहिल्यै पनि आफूहरुले महान व्यक्ति नभनेको जिकिर गरे । समय सापेक्ष देउवा सुध्रिए कि भन्ने लागे पनि उनको चरित्र अहिले पनि राजावादीभन्दा बाहिर नभएको मण्डलको आरोप छ ।
“आफुले ठूलै प्रजातान्त्रिक ठानेको देउवाले यो देशमा राजालाई शाषन बुझाएको इतिहास जनतालाई थाहा छ ।” मण्डलले भने ।
मन्त्री मण्डलले प्रधानमन्त्री देउवालाई नैतिकता पतन भएको आरोपसमेत लगाए ।
विना विभागीय मन्त्री बनाएपछि आक्रोषित रुपमा प्रस्तुत भएका मन्त्री मण्डलले भने, “देउवा प्रधानमन्त्री को हो ? यो देशको भगवान हो ? उसले गलत गरेको कामप्रति प्रश्न उठाउन नपाउने ?”
आक्रोषित हुँदै मण्डलले भने “सरकार भनेको शेरबहादुर देउवाको विर्ता हो ? उसले भन्दैमा हामीहरुले जे पनि गर्ने ? हामी पनि संवैधानिक अधिकार अन्तरगत हामी पनि मन्त्री भएको हो ।”
विनाविभागीय मन्त्री बने पनि देउवाको जत्ति नै आफ्नो पनि संवैधानिक अधिकार भएको जिकिर गर्दै मण्डलले राजिनामा नदिने बताए ।
“देउवाले उसको अधिकार प्रयोग ग¥यो, त्यसमा हाम्रो आपत्ति भएन । तर हाम्रो अधिकारको कुरा बोल्न नपाउने ?” मण्डलले प्रश्न गरे ।
देउवालाई पटक पटक आरोप लगाएका मण्डलले बेला बेलामा देउवा भन्नुपर्ने ठाउँमा गिरिजा भनेका थिए ।
मण्डलले भने, “त्यो देउवालाई सोध्नुप¥यो, नैतिकताको धरातलमा देउवा उभिएको छ कि छैन । त्यसलाई सोध्नुप¥यो पहिले ।”
अहिले पनि देशलाई देउवाले दुर्घटनामा पु¥याउन खोजेको आरोप मण्डलले लगाएका छन् । देउवाले निर्वाचन नगराउने खेल खेलिरहेकोसमेत मण्डलको आरोप छ ।
पार्टीको निर्णय अनुसार सरकार नछाडेको बताउँदै मण्डलले पार्टी अध्यक्षले भनेको खण्डमा एक मिनेट पनि सरकारमा नबस्ने बताए । देउवाले भन्दैमा राजिनामा दिनुपर्ने आवश्यकता नभएको उनले बताए ।
नेपालको लोकतन्त्रको बाधक नै कांग्रेस भएको मण्डलको दाबी छ ।