नेपाली राजनीतिमा महिलाको खडेरी: १११ सिटमा ९ जना महिला उम्मेदवार

नेपाली राजनीतिमा महिलाको खडेरी: १११ सिटमा ९ जना महिला उम्मेदवार
राजनीति

पहिलो चरण ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी दर्ता हुँदा वाम र कांग्रेस गठबन्धनबाट जम्मा ९ जना महिलाले टिकट पाएका छन् ।

उम्मेदवारी दर्ताको आधिकारिक विवरण अनुसार प्रतिनिधिसभामा जम्मा ३ जना महिला उम्मेदवार बनेका छन् भने प्रदेशमा ६ महिला नेतृ भिड्दैछन् । यो तथ्यांक वाम र कांग्रेस गठबन्धनका उम्मेदवारको मात्र हो ।

मुख्य प्रतिस्पर्धा यहि दुई गठबन्धनबीच हुने निश्चित छ । नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको अवस्थामा प्रत्यक्षतर्फ महिलाले टिकट नपाएपछि समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दलहरुलाई आउनेछ ।

प्रतिनिधिसभामा कांग्रेसबाट २ महिलाले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा कांग्रेस नेतृ शरस्वती बजिमय र बागलुङ क्षेत्र नं. १ मा पूर्वसांसद चम्पादेवी खड्का उम्मेदवार बनेकी छन् ।

त्यस्तै वाम गठबन्धनबाट माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छिन् ।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट ५ महिला भिड्दै गर्दा कांग्रेसले १ जना मात्र अघि सारेको छ । वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी (ख) बाट उम्मेदवार बनाएको छ । त्यस्तै मनाङ ख बाट खण्डा लामा गुरुङ एमालेको उम्मेदवार छिन् ।

माओवादीबाट नुवाकोट १ क मा राधिका तामाङ, गोरखा २ ख मा कमला नहर्की र बझाङ ख बाट देवकी मल्ल उम्मेदवार छिन् । कांग्रेसले लिलादेवी बोखिमलाई ताप्लेजुङ क बाट उम्मेदवार बनाएको छ ।

Post Comment