नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला चुनावी तालमेलको कारण यो पटक प्रत्यक्षमा उठ्नबाट बञ्चित बनेका छन् ।
चुनावी तालमेलका नाममा काँग्रेसको प्रभाव क्षेत्र समेत पार्टी सभापतिले अन्य राजनीतिक दललाई बुझाउन थालेको भन्दै यसअघि नै असन्तुष्टी जनाएका उनी अन्नतः आफ्नै चुनावी क्षेत्रबाट चुनाव उठ्न बञ्चित भएका छन् ।
सिटौलाले आफु झापाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्ष तर्फको उम्मेदबार हुने सार्वजनिक घोषणा गरेको तीन दिन पनि नबित्दै पार्टीले उनलाई रोकेर राप्रपालाई उक्त क्षेत्रमा टिकट दिएको छ ।
यसअघि पार्टीले बुझाएको समानुपातिक तर्फको सूचीमा आफ्नो नाम रहेपनि संशोधन हुने बताउँदै आएका थिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा यसअघि नै उनले भनेका थिए,‘मेरो जानकारी विना मलाई नै समानुपातिकमा पठाउने कुरा मैले सोच्न पनि सक्दिन। उनले भने, ’ म प्रत्यक्ष जनताकै बीचमा गएर चुनावमा सहभागि हुन्छु।’
काँग्रेस सभापति शेर बहादुर देउवाले चुनावी तालमेलका नाममा राप्रपालाई झापा ३ दिने आन्तरिक सहमति पछि सिटौला रुष्ट छन्। चुनावको बेला तालमेल गर्दा आफ्नो पार्टीगत विचार, दृष्टीकोण मर्ने भएकाले केन्द्रीय चुनावमा तालमेल गर्नु उपयुक्त नहुने तर्क सिटौलाको थियो ।
निर्वाचन जित्ने नाममा हुने तालमेलले पार्टीहरुको बैचारिक धरातल कमजोर हुने र मुलुकको राजनीति नै अन्यौलमा पर्ने सिटौलाको आरोप छ ।
कांग्रेस र राप्रपावीच चुनावी तालमेल अनुसार झापा ३, मकवानपुर २, काठमाडौं ७, बाँके २, पर्सा २ र दैलेख २ गरि ७ वटा क्षेत्र राप्रपालाई दिने सहमति भएको छ। झापा ३ मा राजेन्द्र लिङ्देन, मकवानपुर २ मा कमल थापा, काठमाडौं ७ मा विक्रम थापाको नाम फाईनल भएको छ । त्यस्तै दैलेख २ मा कुन्ती कुमार शाहीलाई उम्मेद्धवार बनाउने भएको छ ।