कांग्रेसको घोषणा पत्र:कम्युनिष्टले जिते अस्थिरता बढ्ने,राज्यलाई भ्रष्टाचारमुक्त बनाउने

कांग्रेसको घोषणा पत्र:कम्युनिष्टले जिते अस्थिरता बढ्ने,राज्यलाई भ्रष्टाचारमुक्त बनाउने
राजनीति

नेपाली कांग्रेसले आगामी संघीय र प्रदेश चिर्वाचनको लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ ।

कांग्रेसले आर्थिक समृद्धि, पर्यटन विकास, युवा उद्यम, कृषिको आधुनिकीकरणजस्ता एजेण्डा समेटेर घोषणापत्र तयार पारेको छ ।
कांग्रेसले आफ्नो घोषणापत्रमा बाम गठबन्धनलाई सत्ता स्वार्थको संज्ञा दिएको छ । त्यस्तै माओवादी केन्द्रलाई अस्थिर राजनीतिक लाभ खोज्ने अवसरवादीको आरोप घोषणापत्रमा लगाइएको छ ।

कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधक संज्ञा दिएको छ ।

‘मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ’, घोषणा पत्रमा उल्लेख छ ।

माओवादीप्रति लक्षित गर्दै घोषणापत्रमा लेखिएको छ, ‘पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ ’ ।

कम्युनिष्टले जिते अस्थिरता र भ्रष्टाचार बढ्ने दाबी

कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको कांग्रेसको दाबी छ ।

कार्यकारी राष्ट्रपतीय प्रणालीले स्थिरता ग्यारेन्टी नगर्ने भन्दै उसले भनेको छ, ‘संसदमा कम्युनिष्टहरुको वर्चश्वले स्थिरताको ग्यारेन्टी गर्दैन । देशलाई निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने र द्वन्द्व सिर्जना गर्ने खतरनाक प्रयोग मात्र हुन सक्छ ।’

कम्युनिष्ट सरकारले राष्ट्रिय/अन्तराष्ट्रिय लगानी घट्ने र पूँजी पलायन हुने कांग्रेसको दाबी छ । एमाले र माओवादी सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको कांग्रेसले घोषणापत्रमा दाबी गरिएको छ ।

एमाले सत्ताको केन्द्रमा बसेर सहयोगीको व्यवसायिक स्वार्थ रक्षार्थ दल नियन्त्रित पूँजीवाद संरक्षण गर्ने कम्युनिष्ट पार्टी बनेको बताउँदै कांग्रेसले भनेको छ, ‘चिकित्सा शिक्षा विधेयकलाई पारित हुन नदिनु यसको ज्वलन्त उदाहरण हो ।’

एमाले र माओवादीको गठबन्धनलेे सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको बताउँदै कांग्रेसले यो प्रयोग कुनै हालतमा स्वीकार्य नहुने बताएको छ ।

वृद्धभत्ता बढाउने, राज्यलाई भ्रष्टाचारमुक्त बनाउने

नेपाली कांग्रेसले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने बाचा घोषणापत्रमा गरेको छ । प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा आश्रम बनाउने र आवास, भोजनदेखि सबै सेवा निःशुल्क उपलब्ध गराउने बताएको छ ।

साथै कांग्रेसले नेपाली समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन संकल्प पनि व्यक्त गरेको छ । अख्तियार, सतर्कता केन्द्रलाई प्रभावकारी बनाउने, भ्रष्टाचारमुक्त समाज बनाउन सामाजिक-राजनीतिक अभियान चलाउने उसले बताएको छ ।

राजनीतिक भागवण्डाका आधारमा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने प्रचलन रोक्ने बाचा पनि कांग्रेसले आफ्नो घोषणापत्रमा गरेको छ ।

‘राष्ट्रिय पुनर्जागरणको नयाँ युग’

सुरुमा समसामयिक राजनीतिबारे चर्चा गरिएको कांग्रेसको घोषणापत्रमा नेपालमा राष्ट्रिय पुनर्जागरणको नयाँ युग सुरु भएको घोषणासमेत गरिएको छ ।

विगत २५ वर्षमा नेपाली कांग्रेसले के के विकास गर्‍यो भन्ने फेहरिस्थ घोषणापत्रमा दिइएको छ । २५ वर्षको अवधिमा विद्यालय र कलेजहरुको संख्या बढेको देखाउँदै त्यो संख्यावृद्धि कांग्रेसका कारण भएको दाबी गरिएको छ ।

विगत २५ वर्षयता कालोपत्र सडक, उच्च शिक्षा लिने विद्यार्थीको संख्या, स्वास्थ्य चौकी र शौचालयको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्य प्रस्तुत गर्दै त्यसलाई कांग्रेसका कारण भएको विकासका रुपमा देखाइएको छ ।

यस अवधिमा वालमृत्युदर घटेको, विद्युत क्षमता बढेको मात्रै देखाइएको छैन, २५ वर्ष पहिले ७१ हजार ५६० वटामात्रै टेलिफोन रहेकोमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा भएको विकासको प्रंतिफलका कारण देशमा २ करोड ७८ लाख ५० हजार मोवाइल फोन रहेको कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।

Post Comment