अन्ततः नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच चुनावी टक्कर हुने निश्चित भएको छ ।
नेपाली काँग्रेस र मधेशवादी दलबीच चुनावी तलमेल गर्ने सहमति भएपनि धनुषाका तीन नम्बर क्षेत्रमा कुरा नमिलेपछि यी दुई नेता आमने सामने आएका हुन् ।
सहमति अनुसार सबै क्षेत्रमा चुनावी तालमेल गर्न नसकेपनि शीर्ष नेताहरुको बीचमा तालमेल हुने सहमति भएको थियो । जसअनुसार मधेशवादी दलका शीर्ष तहका नेताले उम्मेदवारी दिने ठाउँमा काँग्रेसले उम्मेदवारी नदिने, काँग्रेसका शीर्ष नेताले उम्मेदवारी दिने ठाउँमा मधेशवादी दलले उम्मेदवारी नदिने सहमति भएको थियो ।
तर, अन्तिममा आएर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको सीट काँग्रेसले छाड्न नमानेपछि सहमति भत्किएको हो । राजपा नेपालले धनुषाका तीन नम्बर छाड्नुस् या सर्लाहीका चार नम्बर छाड्नुस् भन्दा पनि न विमलेन्द्रले धनुषाका तीन छाड्न तयार भए न अमरेश कुमार सिंह सर्लाहीका चार छाड्न तयार भए ।
अन्ततः राजेन्द्र महतो धनुषा तीनबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने घोषणा गरेपछि अब विमलेन्द्र र महतोबीच टक्कर हुने निश्चित भएको छ ।
विमलेन्द्र निधि यसअघि पनि सोही क्षेत्रबाट चुनाव लडेका थिए । अर्थात् उनका गृह चुनावी क्षेत्र हो । तर राजेन्द्र महतो यसअघिको चुनावमा हारेका हुन् र उनको चुनावी क्षेत्र सर्लाही रहेको छ ।
यसपटक सर्लाही छाडेर उनले धनुषा क्षेत्र नम्बर तीनबाट उम्मेदवारी दिने भएका छन् । जनकपुर उपमहानगरपालिका राजपा नेपालका लालकिशोर यादव मेयरमा जितेपछि राजेन्द्र महतोको आकर्षण धनुषाको तीनमा पुगेको हो ।
उपमहानगरपालिकाको २५ वटा वडामध्ये १५ वटा वडा सोही क्षेत्रमा रहेका छन् । ती वडामध्ये अधिकाँशमा राजपा नेपाल नै जितेका छन् । १५ वडामध्ये नौवटा वडा राजपा नेपालले जितेका छन् भने काँग्रेसले चार र एमालेले दुईवटा वडा जितेका छन् ।
धनुषा तीन नम्बरमा साहु महाजन बाहुल्य क्षेत्र हो । र, त्यही भोटको लोभमा राजेन्द्र महतो चुनाव लडेका हुन् । राजपा नेपालबाट लालकिशोर साहले ल्याएको मत आधारमा नै महतोले पनि मत ल्याउन सक्यो भने जित सुनिश्चित रहेको धनुषाका स्थानीयहरुको बुझाई रहेको छ ।
जुन मतको लोभमा राजेन्द्र महतो त्यहाँ चुनाव लड्न गएका हुन् त्यही मतबाट यसअघि संजय साह (टकला) पनि जितेका थिए । राजेन्द्र महतोले संजय टकलाको सहयोग पाउने आशा गरेका थिए । तर स्रोत भन्छ, उनका श्रीमती रंगिलादेवी साह पनि उम्मेदवारी दिनेछिन् ।सोही क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट एमाले नेतृ जुली महासेठ तथा स्वतन्त्रबाट निलम्बित पूर्व सांसद् संजय साहकी पत्नी रंगीला साह पनि चुनाव लड्ने छन् ।
यदि संजयका श्रीमती रंगिलाले उम्मेदवारी दिइन् भने सबभन्दा बढी मत राजेन्द्र महतोको काटिनेछ । किनभने राजेन्द्र महतोले पाउने मत नै रंगिलाको मत हो ।
स्रोतका अनुसार विमलेन्द्र निधिलाई हराउनका लागि रंगिलाले उम्मेदवारी दिन लागेकी हुन् । र, वाम गठबन्धनले पनि रंगिलालाई नै संघाउने जनकपुरका स्थानीय स्रोतहरुले जनाएका छन् । हालसम्म वाम गठबन्धनले धनुषा क्षेत्र नम्बर तीनका लागि उम्मेदवार घोषणा गरेको छैन । स्वतन्त्र उम्मेदवारलाई सघाउने कुरा बाहिर आएको छ ।
वाम गठबन्धन र राजपा नेपालबीच आन्तरिक तालमेल गरी विमलेन्द्र निधिलाई हराउने कुरा पनि हुनसक्छ, स्रोतहरुको दावी छ ।
विमलेन्द्र निधि पछिल्लो समय जनकपुरका लागि आलोचित नेताको रुपमा चिनिन्छ । जनकपुरमा हुन लागेको विकासमा विमलेन्द्र निधि बाधक बनेको आरोप लागि रहेको छ । यद्यपी काँग्रेसको पनि संगठन त्यहाँ कमजोर छैन ।
चारै नेतालाई सो क्षेत्रबाट चुनाव जित्न ठूलै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । महतो, महासेठ तथा साह तिनै सुडी जातका उम्मेदवार हुन् । तसर्थ महतोलाई जातीय मत तान्न पनि ठुलै चुनौती झेल्नु पर्नेछ । महतोको जितमा महासेठ तथा साह पनि बाधक बन्न सक्ने सम्भावना देखिन्छ । जातीय मत उनीहरुले केही केही बाँडेको खण्डमा निधिलाई फाईदा पुग्ने देखिन्छ ।
यता निधि स्थानीय जिल्लावासी भएको र महतो अन्तर जिल्लाको भएको नाराले पनि निधिलाई फाईदा पुग्ने सम्भावना देखिन्छ ।
साहु महाजनको मतको आधारमा जित्ने लोभमा राजेन्द्र महतो धनुषाबाट चुनाव लडिरहेको हल्लाले साहु महाजनबाहेकको मत विमलेन्द्र निधिलाई जाने पनि सम्भावना रहेको छ । सहरी क्षेत्रमा मात्र साहु महाजनको मत रहेको छ त्यस बाहेक यादव, झा र कर्णको मत पनि पर्याप्त रहेका छन् ।
साहुहरुले राजेन्द्र महतोलाई मत हाल्छन् भने अन्य समुदायले निधिलाई रोज्ने खतरा पनि त्यतिकै रहेको छ ।
धुनषामा विमलेन्द्र र राजेन्द्र महतोबीचको चुनावी टक्कर रोचक हुने देखिएको छ ।