माओवादीले हत्या गर्न खोजेका नेता नै प्रचण्ड जिताउ अभियानमा

माओवादीले हत्या गर्न खोजेका नेता नै प्रचण्ड जिताउ अभियानमा
राजनीति

प्रपा चितवनका अध्यक्ष बद्री तिमल्सिना तामझामसाथ नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । अघिल्लो निर्वाचनमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे जिताउन भूमिका खेलेका तिमल्सिनाले यसपटक आफूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जसरी पनि जिताउने बाचा गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा उनले आफू राप्रपाको कार्यालयमा ताला लगाएर माओवादी आएको बताएका थिए । तिमल्सिनालाई भित्र्याएपछि प्रचण्डका प्रत्यासी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पाण्डे सजिलै पराजित हुने भन्दै माओवादी नेता कार्यकर्ता हौसिएका छन् ।

तर, तिनै तिमल्सिनालाई कुनै बेला माओवादीले सफाया अर्थात हत्याको योजना बनाएको थियो । तिमल्सिना तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालका बेला भएको स्थानीय निर्वाचनमा भरतपुृर नगरपालिकाको मेयर पदका उम्मेदवार थिए ।उनी माओवादी प्रतिकार समिति चितवनको संयोजक समेत थिए । माओवादीले राजाले गराएको चुनावमा उम्मेदवार नबन्न र प्रतिकार समितिमा नबस्न आग्रह गर्दा तिमल्सिनाले मानेका थिएनन् । त्यसपछि माओवादीले तिमल्सिनालाई अपहरण गरी सफायको योजना बनायो ।

माओवादी कार्यकर्ता आफूलाई अपहरण गर्न आउँदै गरेको सूचना माओवादीभित्रैबाट तिमल्सिनाले पाए । भागेर ज्यान बचाए । ‘हामी उनलाई गिरफ्तार गर्न भनेर गयौं, हामी नपुग्दै हामीमध्ये कसैले सूचना चुहाएका कारण भागेर ज्यान बचाएछन्’, माओवादी चितवनका एक नेताले भने ।

Post Comment