तीन ‘हेभिवेट’ मन्त्रीहरुको चुनावी प्रतिस्पर्धा

तीन ‘हेभिवेट’ मन्त्रीहरुको चुनावी प्रतिस्पर्धा
राजनीति

दाङ जिल्लामा अन्य स्थानभन्दा तीन ‘हेभिवेट’ मन्त्रीहरुको चुनावी प्रतिस्पर्धा सबैको आकर्षणका रुपमा रहेको छ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी नेता तथा उपप्रधानमन्त्री कृष्ण बहादुर महरा , यही क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बनेका एमालेका स्थायी समिति सदस्य एवं पुर्व सुचना तथा सञ्चारमन्त्री शंकर पोख्रेल , क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सिंचाई मन्त्री दिपक गिरी र क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका कांग्रेस नेता एवं राज्यमन्त्री डिल्लि चौधरी । जिल्लाका अन्य स्थानभन्दा यी चार क्षेत्रको निर्वाचन प्रतिस्पर्धाले दाङ र आसपासका क्षेत्रको ध्यान तानेको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको भोटको अंकगणितलाई आधार मान्ने हो भने जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनको पल्ला भारी देखिन्छ । यद्यपी यसअघिका प्रत्येक निर्वाचनमा दाङले रङ बदल्दै आएको छ । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा सबै सिट जितेको माओबादी २०७० सालमा जिल्लामा शुन्य भयो भने कांग्रेसले सबै क्षेत्रमा जित हात पा¥यो । यस्तै यि दुवै निर्वाचनमा शुन्य सिट जितेको एमालेले स्थानीय तह निर्वाचनमा जिल्लाका १० सिट मध्ये ६ स्थानमा विजयी भयो भने कांग्रेस ३ र माओवादी १ स्थानमा विजयी भयो ।

जित दोहोेर्‍याउने दाउमा महरा र राजु
माओवादी नेता एवं उपप्रधानमन्त्री कृष्ण बहादुर महराका प्रतिस्पर्धीका रुपमा कांग्रेसका राजु खनाल रहेका छन् । दवै नेताले यसअघि यही निर्वाचन क्षेत्रबाट एक— एक चोटी निर्वाचन जितिसकेका छन् । महराले २०६४ सालमा यही क्षेत्रबाट भारी मतको अन्तरमा विजयी भएका थिए भने ०७० सालको निर्वाचनमा राजु खनालले माओवादीलाई तेस्रो स्थानमा पारेर यही क्षेत्रबाट निर्वाचन जिते । स्थानीय तह निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले २० हजार ९ सय ८१ , एमालेले २१ हजार ६ सय ३६ र माओवादी केन्द्रले १७ हजार ५ सय ५३ मत ल्याएका छन् । जसअनुसार हाल वाम गठबन्धन कांग्रेस भन्दा झण्डै दोब्बर मतले अगाडि छ । राप्रपा प्रजातान्त्रिक लगायत केही साना दलले कांग्रेस उम्मेदवार खनाललाई सहयोग गर्ने बताए पनि ती दलसँग खासै मत रहेको देखिदैन । अंकगणितमा दोब्बर मत ल्याएका महरालाई कमजोर बनाउन विपक्षीहरुले उनलाई ‘बाहय नेता’ का रुपमा आरोप लगाउदै आएका छन् । ०६४ सालको निर्वाचनमा दाङबाट निर्वाचन जितेर ०७० सालमा चुनाव लड्न रोल्पा पुगेका महरालाई यही एजेण्डालाई स्थापीत गरेर कमजोर बनाउने दाउमा नेपाली कांग्रेस छ । यद्यपी महराले यसलाई सामान्य प्रक्रियाका रुपमा अर्थ लगाउदै आएका छन् । ‘ पार्टीको आवश्यक्ता अनुसार त्यतिबेला रोल्पा पुगेको हुँ । यस्ता सामान्य आरोपले निर्वाचनमा खास्सै अर्थ राख्दैन । ’ उनले भने ‘ रोल्पाबाट निर्वाचन लडेपनि दङाली जनताले दाङको विकासका लागि मैले खेलेको भुमिका जनताले स्पष्ट बुझेका छन । खनालले पनि विगतमा निर्वाचन जित्नेले सपना मात्र बाँडेको र आफुले निर्वाचन जितेपछी दाङको विकासले गति लिएको दाबी  गर्दै आएका छन् ।

२ वर्ष पछि इतिहास दोहोर्‍याउने दाउमा पोखरेल
प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका एमाले नेता शंकर पोखरेल इतिहाँस दोहोर्‍याउने दाउमा छन् । २०५१ सालको संसदीय निर्वाचनमा विजयी भएका उनले त्यसयता २ पटक निर्वाचन लड्दा पनि जित हात पार्न सकेका छैनन् । नेता पोखरेलको प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेस नेता कमलकिशोर घिमिरे यस किसमको निर्वाचनका लागि नयाँ अनुहार मानिएतापनि पार्टी भित्र राम्रो प्रभाव जमाएका व्यक्ति हुन । स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले १० हजार २ सय ६७ , एमालेले १० हजार १ सय ७९ र माओवादीले ९ हजार ४ सय ८३ मत पाएका छन । एक्लाएक्लै पनि प्रतिस्पर्धा हुने देखिएको यस क्षेत्रमा वामगठबन्धन नै निर्वाचनमा होमिँदा उसको अंकगणित निकै अगाडि देखिन्छ ।

इतिहासलाई निरन्तरता दिने गिरी र चौधरीको तयारी
०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीसँग पराजित भएपनि ०७० सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट नै कांग्रेस उम्मेदवार गिरी विजयी भए । पुर्व सिंचाई मन्त्री समेत रहेका गिरी आगामी निर्वाचनबाट पनि जितलाई निरन्तरता दिने तयारीमा छन् । मन्त्री हुँदा सो क्षेत्रको विकास निर्माणका कार्यका लागि महत्वपुर्ण भुमिका निभाएको भन्दै चर्चामा रहेका गिरी वामगबन्धनका तर्फबाट एमालेका जिल्ला सचिव समेत रहेका हिराचन्द्र केसीसंग प्रतिस्पर्धा गर्दैछन् । निर्वाचनका लागि नयाँ अनुहार भएता पनि केसी वामगठबन्धनमा रहेको भारी मतान्तरका साथ निर्वाचनमा होमिएका छन् । स्थानीय तह निर्वाचन अनुसार कांग्रेसले यो क्षेत्रबाट २६ हजार ४९ , एमालेले २६ हजार २ सय ८२ र माओवादीले १५ हजार ४ सय ४५ मत पाएका छन् । जिल्लामा प्रादेशिक राजधानी बनाउन ठुला नेता आवश्यक पर्ने चर्चाका कारण पनि यस क्षेत्रमा गिरीलाई मतदाताले रोज्न सक्ने आँकलन गरिएको छ ।

यस्तै यही क्षेत्र नम्बर ३ कै (क) बाट उम्मेदवार बनेका डिल्ली चौधरी पनि जितलाई निरन्तरता दिने दाउमा छन् । ०७० सालको निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी भएका थिए । श्रम राज्यमन्त्री समेत रहेका चौधरीको प्रतिस्पर्धीका रुपमा बाम गठबन्धनकातर्फ माओवादी नेता जगप्रसाद शर्मा छन् । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले ११ हजार १ सय ९७ , एमालेले ११ हजार ८ सय ४८ र माओवादीले ५ हजार ९ सय ४४ मत पाएका थिए । गठबन्धन बलियो भएतापनि आफनो पार्टी निक्कै कमजोर भएको र यहाँको विकासका लागि महत्वपुर्ण भुमिका खेलेको भनि चर्चामा रहेका चौधरीलाई हराउन गठबन्धनका शर्माले निक्कै कसरत गर्नुपर्ने आँकलन गरिएको छ ।

Post Comment