पुत्रविगोय सबैभन्दा ठूलो शोक रहेछ:- प्रचण्ड

राजनीति

पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका हरेक युवायुवतीमा स्वर्गीय छोरा प्रकाशलाई देखेको बताएका छन् ।

स्वर्गीय प्रकाशको सम्झनामा बिहीबार प्रचण्ड निवासमा श्रद्धाञ्जली सभा राखिएको थियो, जहाँ शीर्ष नेताहरुका साथै कूटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित थिए ।

कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य बाचन गरिएको थियो । त्यसमा भनिएको छ, ‘प्रकाश अब छैनन् । तर, देशका हरेक युवा युवतीमा हामीले प्रकाश देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविश्यका लागि अझ धेरै महनत गर्नुपर्छ भन्नेमा निष्कर्षमा अझ दृढ भएका छौं ।’

आफू पूर्णकालिन राजनीतिमा लागेका कारण बाल्यकालमा छोरालाई समय दिन नपाएको उनले स्मरण गरे ।

सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दा फेर्दै पढाइ लथालिंग भएको भन्दै उनले भने, ‘अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बुबाको रुपमा उनीमाथि न्याय गर्न सकिनँ ।’

केहीले प्रकाशलाई आफ्नो छोरा मात्र ठानेको र उनको व्यक्तित्वलाई त्यसमै सिमित गर्न खोजेको उनको गुनासो छ । प्रकाश प्रविधि, संगठन र व्यवस्थापनमा पोख्त रहेको र आफ्ना लागि छोरा भन्दा बढी सहकर्मी र सहयोद्धा रहेको उनले बताएका छन् । भनेका छन्, ‘एमान्दारीतापूर्वक भन्छु, प्र्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगविना सफल हुने थिएन ।’

प्रचण्डले पुत्रशोकमा रहेका बेला आफूलाई सान्त्वना दिनेहरुप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘पुत्र विगोय मानिसको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि ।’

तर, शोकमै देश र समाजप्रतिको दायित्व अझ बढी महसुस भएको पनि उनले बताएका छन् । वक्तव्य बाचन भइरहँदा मञ्चमा रहेका प्रचण्ड र सीता दाहाल निकै भावुक बनेका थिए ।

यस्तो छ प्रचण्डले जारी गरेको वक्तव्यको पूर्णपाठ

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनहरु,

हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल(प्रकाश) को श्रद्धाञञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितीका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईँहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ। तपाईँहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासंग लड्न धेरै शक्तिm मिलेको छ ।

यही मंसिर ३ गते आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो । उनी जम्मा ३६ वर्षका थिए । ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो । कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि विदा भए ।

म पूर्णकालिन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भुमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथे, त्यो पनि राती अबेला आउँथे र बिहान झिसमिसेमै हिँडिहाल्थें । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए । सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दाफेर्दै उनको पढाइ लथालिङ्ग भयो । अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालिन कार्यकर्ता भए । अहिले सम्झिँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ ।

केहिले कमरेड प्रकाशलाई केवल मेरो छोरामात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सिमित गर्न खोजे । तर, उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए । म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होइन, त्यो भुमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए । उनी अत्यन्त मिडीयामैत्री थिए । प्रविधिमा उनको रुचीमात्र थिएन, दख्खल पनि थियो ।

व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देखिरहनुभएकै हो । सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए । म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना सफल हुने थिएन ।

पुत्रवियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि । शोकको यो घडीमा हामीले देशमात्र होइन, विश्वभरिबाटै हार्दिक समवेदना र सान्त्वना पायौं । नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋणि छौं ।

हाम्रा छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्वक समवेदना पायौं । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यबद्धता र सहानुभुती देखाए । विभिन्न पेशागत, व्यवसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई शान्त्वना दिए । मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्याघाटसम्म स्वतःस्फुर्त रुपमा उर्लिएको जनसागरलाई मैले क. प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु ।

दश वर्ष लामो नेपाली क्रान्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धेरै किर्तिमान देख्यौं । ‘जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ’ भन्ने हाम्रो मान्यता थियो र छ । कमरेड प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल(क्रान्तिकारी) संगै युवा संगठनहरुले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईँका छोराछोरी हौं’ भनेर हाम्रो आत्मबल बढाए ।

प्रकाश अब छैनन् । तर, देशका हरेक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निश्कर्षमा हामी अझ दृढ भएका छौं । हो, हामी शोकाकुल छौं । तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझ बढि महशुस गरेका छौं ।

आफन्तजन, राजनीतिज्ञहरु, पार्टीका साथीहरु, महामहिमहरु, विभिन्न पेशा र वर्गका शुभचिन्तकहरु, यो शोकका क्षणमा यहाँहरुले मनैदेखि दिएको समवेदना र सहानुभूतिले हामीमा धैर्य र हिम्मत थपेको छ । आजको उपस्थितीका लागी म परिवार र पार्टीका तर्फबाट हृदयदेखि नै तपाईँहरुप्रति कृतज्ञता व्यक्त गर्दछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेकपा(माओवादी केन्द्र)
७ मंसिर, २०७४

Post Comment