गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७१५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।
पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका – १० का डिलमान गुरुङ , गाडी चालक गोरखा – ११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका – १० का अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा – ८ का खुशबहादुर थापा र गोरखा नगरपालिका – ६ का भरतकुमार श्रेष्ठसमेत पक्राउ परेका छन् ।
यता बाबुराम भट्टराईले आफूले गलत नियतले पैसा नबाँडेको र वाम गठबन्धनका कार्यकताले मतदाता प्रभावित पार्न के गरिरहेका छन् भन्ने आफूलाई राम्रोसँग थाहा भइरहेको भन्दै पन्छिन् खोजेका छन् ।
बाम गठबन्धनबाट उम्मेदवार बनेको नारायणकाजी श्रेष्ठले बाबुरामले पैसा बाँडेर चुनाव जित्ने ध्याउन्नमा लागेको भन्दै चर्को आलोचना गरेका छन् । यसरी दुवै नेता एक अर्कालाई आरोप लगाइरहेका बेला प्रहरीले यसबारे मेसो पाउन सकेको छैन् ।
चुनावको सुरक्षाका लागि प्रहरी कार्यालयमा अनुसन्धन गर्ने कोही नभएकाले प्रहरी आएपछि अनुधसन्धन थालिने प्रहरीले जनाएको छ ।