कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्तरका दुई नेता प्रतिस्पर्धामा उत्रिएपछि चुनावी माहोल निकै तातेको छ ।
नेपाली कांग्रेसका दीपकुमार उपाध्याय र वाम गठबन्धनका चक्रपाणी खनाल एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएकाले यहाँको चुनावी रौनक निकै बढेको हो ।
दुवै उम्मेदवार केन्द्रीय राजनीतिलाई प्रभावित गर्न सक्ने नेताको रुपमा परिचित छन् ।
पूर्वराजदूतसमेत रहेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।
हेभिवेट उम्मेदवारहरुकै कारण अहिले कपिलवस्तु क्षेत्र नं. १ चर्चामा रहँदै आएको छ । उपाध्याय र खनालबीचको प्रतिस्पर्धा कडा हुने मतदाताहरु बताउँछन् ।
पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म पटक/पटक चुनाव लड्दै आएका नेपाली कांग्रेसका उपाध्याय आफू सधैं जनतामाझ नै रहेकाले यस पटक पनि आफ्नो जित सुनिश्चित हुने दाबी गर्छन् ।
संविधानसभा निर्वाचनमा पराजित भएका माओवादीका पूर्व डेपुटि कमान्डरसमेत रहेका खनाल भने यसअघिका जनप्रतिनिधिले जिल्लाको विकासमा ध्यान नदिएकाले यस पटक जनताले आफूलाई निर्वाचित गर्ने बताउछन् ।
उनले कृषि र पर्यटनका माध्यमबाट जिल्लाको विकासमा तिव्रता दिलाउने प्रतिबद्धता व्यक्त गर्दै चुनावी अभियान सञ्चालन गरिसकेका छन् ।
स्थानीय तहको चुनावको मत परिणामलाई हेर्दा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको मत उस्तै–उस्तै देखिन्छ ।
कपिलवस्तु क्षेत्र नम्बर १ बाट संघीय समाजवादी फोरम नेपालका अब्दुल रसिद खाँ र नयाँ शक्ति पार्टीका दानबहादुर चौधरी पनि चुनावी प्रतिस्पर्धामा उत्रिएकाले उनीहरुले काट्ने मतले उपाध्याय र खनालको हार/जितमा असर पर्ने देखिएको छ ।