प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुले अहिलेको संविधान खारेज गरेर राष्ट्रपतीय पद्दति लागू गर्न खोजेको दाबी गरेका छन् ।
बुधबार पोखरामा आयोजित चुनावीसभामा बोल्दै उनले विगतमा कम्युनिष्टकै नाममा जनताले दुःख पाएको भन्दै अब फेरि कम्युनिष्ट अधिनायकवाद ल्याएर जनतालाई तर्साउन खोजिएको आरोप पनि लगाए ।
नेपाली कांग्रेसले नै विगतमा राणाशासन हटाउनेदेखि पञ्चायती व्यवस्था ढाल्दै मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी थियो ।
मुलुक अब कम्युनिष्ट शासनमा जाने कि लोकतान्त्रिक शासनमा जाने भन्नेबीचमै अहिले चुनाव भइरहेको उनले उल्लेख गरे ।
सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुदलीय जनवादलाई तिलाञ्जलि दिएर वाम गठबन्धनले देशमा साम्यवाद लाद्न खोजेको आरोप लगाए ।
सभामा कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतलगायतले बोलेका थिए ।