२६ वर्षदेखि कुनै पनि निर्वाचनमा पराजय नबोहोरेका कांग्रेस नेता रामचन्द्र पौडेल यसपटक पराजित भएका छन् । तनहुँ १ बाट वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग उनी ६ हजार ८०२ मतले पराजित भएका हुन् । पौडेलले २७ हजार ६९० र श्रेष्ठले ३४ हजार ४९२ मत प्राप्त गरे ।
विगतका निर्वाचनमा प्रायः फराकिलो विजय हात पार्दै आएका पौडेलले पार्टीभित्रैको अन्तर्घातको सिकार हुनुपरेको बताएका छन् । कांग्रेसको समग्र नतिजा दुःखद रहेको भन्दै उनले अन्तर्घातीलाई कारबाही गर्नुका साथै देशभर पार्टीको हारको कारण र यसको निदान खोज्नुपर्ने बताए । ‘निर्वाचनको समग्र नतिजा कांगेसका लागि दुःखद रह्यो । यसले कांग्रेसलाई पक्कै राम्रो गरेको छैन । यो नतिजा देशकै लागि पनि राम्रो होइन । साथै, हामी तनहुँमै पनि पराजित हुनुपुग्यौँ,’ नयाँ पत्रिकासँग पौडेलले भने, ‘वाम गठबन्धनभन्दा पनि पार्टीभित्रैकै आन्तरिक कारणले हामी पराजित भएका छौँ ।’
कांग्रेसबाट टिकट नपाएपछि नेता गोविन्दराज जोशीले पनि तनहुँ १ बाटै स्वतन्त्र उम्मेदवारी दिएका थिए । भ्रष्टाचारको मुद्दा किनारा नलाग्दा जोशीको उम्मेदवारी अवैधानिक रहेको पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीविरुद्ध उजुरी दिएका थिए । यही उजुरीमाथि निर्वाचन आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी आधारमा टेक्दै जोशीको उम्मेदवारी खारेज गरिदिएको थियो । यसबाट क्रुद्ध बनेका जोशीले पौडेललाई जसरी पनि हराउँने भन्दै अभियान नै थालेका थिए ।
यस्तो छ पौडेलको विगत
पौडेल ०४८ मा तनहुँ १ र ०५१ र ०५६ मा तनहुँ २ बाट विजयी भएका थिए । ०६४ को पहिलो र ०७० को दोस्रो संविधानसभा उनी तनहुँ २ बाट निर्वाचित भए । ०४८ यता पौडेल उपप्रधानमन्त्री, सभामुख, मन्त्री भइसकेका छन् । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि ०७२ माघमा भएको १३औँ महाधिवेशनमा पौडेल सभापतिमा शेरबहादुर देउवासँग भिडेका थिए । तर, पराजित हुन पुगे ।
पराजित भएपछि जिल्लाको विकासको रूपरेखा प्रस्तुत
एमाले उम्मेदवारसँग पराजित भएपछि आइतबार गरिएको पत्रकार सम्मेलनमा पौडेल, शंकर भण्डारीसहितका नेताले तनहुँमा अहिलेसम्म भएका विकास निर्माणका योजना र कार्यक्रममा भएको प्रगतिबारे चर्चा गरेका थिए । जिल्लालाई समृद्धिको बाटोमा लानका लागि कृषिको आधुनिकीकरणको योजना, कृषि, सिँचाइ योजना, खानेपानीको योजना, पर्यटन विकास गुरुयोजनाजस्ता विषयमा पौडेलसहितका नेताले चर्चा गरेका थिए ।
हारपछि पौडेलले यसो भने
नयाँ संविधानपछि आमचुनाव र प्रदेश सभा निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद । मप्रति स्दभाव राख्नेप्रति आभार । चुनावमा विजयीलाई शुभकामना र बधाई । कांग्रसले हारजितको प्रवाह नगरी लोकतन्त्रलाई अघि बढाएको छ । लोकतन्त्रको रक्षा, गणतन्त्रलाई संस्थागत गर्न सधैँ अग्रसर रहन्छ । मेरो जीवन सदैव देश, जनता र लोकतन्त्रप्रति समर्पित रहन्छ । देश र जनताका सेवामा क्रियाशील रहनेछु । जिल्लाको समग्र विकासको धेरै काम गरेका छौँ । केही काम गर्न लागेका थियौँ । कतिपय व्यवहारमा उत्रिन सकेका काम छन् । जिल्लाभर धुले सडक सबै ठाउँमा पुर्याएका छौँ । सबै गाउँमा कालोपत्रे सडक पुर्याउने कामलाई अघि बढाएका छौँ । निर्वाचन आयोगको आचारसंहिताले पूरा हुने नै विकासका काम अड्किएका हुन् । अब कार्यान्वयनमा जान्छ ।