नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामपन्थी गठबन्धनको बहुमत आएपछि चकित परेको भारत बाम गठबन्धनलाई कसरी कमजोर पार्ने भन्ने कसरतमा जुटेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छँदै भारतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको कार्ड फ्याँकेर गठबन्धन तोड्ने पहिलो प्रयास गरेको छ । त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र भाजपा नेता राम माधव सुटुक्क नेपाल आएर फर्केका छन् । उनले नेपाल बसाइका क्रममा सबै दलका प्रभावशाली नेतालाई भेटेका छन् । यद्यपि भेटबारे कसैले अहिलेसम्म केही बताएका छैनन् ।
उनै राम माधवले काँग्रेस, मधेस केन्द्रित दल र राप्रपाको समर्थनमा बहुमतको प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । तर, प्रचण्डले नेपालको प्रधानमन्त्री नेपाली आफैंले बनाउने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका छन् । उनकै प्रस्तावअनुसार काँग्रेस नेताहरुले नेपालमा अबको प्रधानमन्त्रीका लागि प्रचण्डजत्तिको योग्य नेता कोही नरहेको बताउन थालेका हुन् । प्रचण्डले प्रधानमन्त्री पद अस्वीकार गरेपछि भारत अबको सरकारमा कसरी आफ्नो पकड जमाउने भन्ने विकल्पमा लागेको छ । स्रोतका अनुसार सम्भवतः एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा भारतले आफूप्रति उदार सोच राख्ने दुवै पार्टीभित्रका दोश्रो पुस्ताका प्रभावशाली नेतालाई मन्त्री बनाउन लविङ थालेको छ । ती नेताहरुको नाम भने स्रोतले खुलाउन चाहेन ।
त्यसका लागि भारतीय दूतावासका साथै काँग्रेस नेता अमरेशकुमार सिंहको सक्रियता बढेको छ । सिंहले आइतबार बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लाजिम्पाटमा भेटेर भारतको सन्देश सुनाएका छन् । यद्यपि प्रचण्डले मन्त्री वा प्रधानमन्त्री बनाउने निर्णय बाम गठबन्धनले गर्ने भन्दै यस्ता विषयमा चासो नराख्न चेतावनी दिएका छन् ।
सरकारमै बसेर प्रधानमन्त्रीका योजनामा ‘डिस्ट्रब’ गरेर सरकार असफल पार्ने र मन्त्रिपरिषदका महत्वपूर्ण सूचना लिन तथा नेपालमा चीनको प्रभाव रोक्नका लागि आफूप्रति नरम नेताहरुलाई जसरी पनि मन्त्री बनाउन भारत कस्सिएको हो । त्यसका लागि उसले गृह, परराष्ट्र, बाणिज्य तथा विकाससँग सम्बन्धित मन्त्रीमा ‘आफ्ना मान्छे’ सेटिङ गर्न लागेको हो ।