नेपालमा राजनीतिक दलका नेता र मन्त्रीहरूले मात्र भ्रष्टाचार गरेको आरोप सबैतिरबाट लाग्दैआएको छ । तर नेता र मन्त्रीहरूलाई भ्रष्टाचार गर्न सिकाउने काम कर्मचारीतन्त्रले गर्दै आएकोबारेमा बहस हुन सकेको छैन । अधिकांश मन्त्रीलाई स्थायी सरकारका रुपमा लिइने कर्मचारीहरूले नै भ्रष्टाचार गर्न बाध्य बनाउने गरेका घटना पनि सुनिने गरेको छ ।
कर्मचारीतन्त्रमा लोकसेवा पास गरिसकेपछि ५८ बर्ष उमेरसम्म कसैले पनि केही गर्न नसक्ने घमण्ड विद्यमान छ । कर्मचारीमा जनताको सेवक भन्दा पनि शासकको दम्भ छ । मन्त्रालयका सचिव र सहसचिवले अनियमितताको हिस्सा लिने र सबै भ्रष्टाचारको दोषजति मन्त्रीको थाप्लोमा हालेर उम्किने गरेका छन् । स्थायी सरकार मानिने कर्मचारीतन्त्र जुन पार्टी शक्तिमा आयो तिनै नेताको घर घरमा चाकरीमा धाउने र आकर्षक विभाग, कार्यालय र आयोजनामा सरुवा हुने गर्दछन् ।
२०७४ मंसिर १० र १८ को चुनावअघिसम्म नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा प्रस्तुत हुने शाखा अधिकृत, उपसचिव र सहसचिवहरू निर्वाचन परिणाम आउन थालेपछि पर्लक्कै पल्टिएका छन् । चुनाव परिणामपछि उनीहरू ५ बर्षसम्म कांग्रेस सत्तामा आउने संभावना क्षीण देखिएपछि वाम नेताहरूको घर घरमा धाउन सुरु गरेका छन् । यस्ता अवसरवादी कर्मचारी बेलैमा नचिन्ने हो भने अब बन्ने वाम सरकारका मन्त्रीहरू पनि विगतका कांग्रेसका केशवकुमार बुढाथोकी, दीपक गिरी, वर्तमान मन्त्रीहरू विजय गच्छदार, दीपक बोहरा, मोहन बस्नेत, कमल थापाहरूजस्तै बदनाम हुन पुग्नेछन् । निजामती प्रशासनमा चुडामणि शर्मा एक खलपात्र हुन्, शर्मा जस्तै हुन् विश्वराज पाण्डे । उदाहरण अरु पनि धेरै छन् । तर दोष राजनीतिक नेतृत्वलाई मात्र दिने गरिन्छ । निजामती प्रशासनमा पनि ब्यापक सुधारको खाँचो छ । वाम सरकारले टे«ृड युनियनका नाममा ब्याप्त अराजकता पनि रोक्न कठोर कदम चाल्नुपर्छ ।
रातारात चोला फेर्दै अवसरवादीहरू
वाम गठबन्धनको सुशासन कायम गर्ने नाराले पनि मतदाताले उनीहरूलाई मन पराएर प्रचण्ड बहुमत दिएका हुन् । गणतन्त्रपछि पनि वनमारा झारझैं फैलिएको भ्रष्टाचारले नेपाल जर्जर भएको छ । जनताले भ्रष्टाचार नियन्त्रणको वाम प्रतिबद्धतालाई पनि रुचाएका छन् । र, मत दिएका छन् । तर वाम गठबन्धनले दुई तिहाईकै नजिक बहुमत ल्याउने स्थिति देखिएपछि कांग्रेस समर्थक भ्रष्ट कर्मचारीहरू धमाधम एमाले र माओवादीका नेताहरूको चाकरी गर्न थालिसकेका छन् ।
कांग्रेसको आडमा भ्रष्टाचार गर्ने यस्ता कर्मचारीहरू कुन कुन नेताले कुन मन्त्रालय पाउने हुन् भन्दै संभावित मन्त्रीहरूलाई घर घरमै गएर खादा लगाएर बधाई दिन थालेका छन् । र, फोटो फेसबुकमा हाल्ने क्रम सुरु गरेका छन् ।
वामनेताहरूले हिजो कांग्रेसको नाममा लुट मच्चाउने कर्मचारीहरू चिनेनन् भने उनीहरू पुनः बदनाम हुन धेरै दिन नलाग्ने चिन्ता कार्यकर्ता पंक्तिले गर्न थालेका छन् । हिजो एमाले निकट कर्मचारीहरूलाई अनेक तरहले दुःख दिने यातायात कार्यालयका जगातेका निमित्त प्रमुख अनोज घिमिरेले भक्तपुर २ बाट प्रतिनिधिसभामा निर्वाचित महेश बस्नेतलाई खादा लिएर घरमै चाकरी गर्न पुगेका छन् । अनोज घिमिरे एक उदाहरण हुन् राजस्व समूहका धेरै भ्रष्ट कर्मचारीहरू पनि वाम नेताहरूको चाकरीमा धाउन थालिसकेका छन् ।
२०५१ देखि यातायात ब्यवस्था विभागका विभिन्न कार्यालयमा सरुवा भई लिखित र ट्रायलमा फेल भएकाहरूलाई सवारी अनुमति दिएर भ्रष्टाचार गरी दसौं करोड रुपैयाँ सम्पत्ति आर्जन गरेका अधिकृत अनोज घिमिरे महेश बस्नेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा आउने हल्ला चल्न थालेपछि हतार हतार चाकरी गर्न पुगेका छन् । २३ बर्षदेखि यातायात कार्यालयमा कार्यरत अधिकृत घिमिरेले विगतमा कांग्रेसको नाममा आतंक नै मच्चाउने काम गरेका थिए ।
चन्द्रमान श्रेष्ठ र मधुसुदन बुर्लाकोटी यातायात ब्यवस्था विभागको महानिर्देशक हुँदा उनी यातायात ब्यवस्था विभागको प्रशासन प्रमुख र जगाते यातायात कार्यालयको प्रमुख दोहोरो जिम्मेवारी लिएर बसेका थिए । उनले वाम समर्थक कर्मचारीलाई छानीछानी दुःख दिने र भ्रष्टहरूबाट घुस लिएर आकर्षक यातायात कार्यालयमा सरुवा गरेको गुनासो आए पनि उनी कांग्रेस निकट निजामती कर्मचारी युनियन संघका नेता भएकाले श्रेष्ठ र बुर्लाकोटी महानिर्देशक भए पनि केही गर्न सक्दैनथे । तर पछि रुपनारायण भट्टराई विभागको महानिर्देशक भएर आएपछि उनले अनोज घिमिरेलाई प्रशासनबाट जगातेको प्रमुखमा मात्र सीमित गरिदिएका थिए ।
प्रशासनको जिम्मेवारी खोसिएपछि अनोज घिमिरेले कांग्रेस नेताहरूसंगको पहुँच देखाएर महानिर्देशक भट्टराईलाई दिनुसम्म दुःख दिने, मिडियाबाजी गराउने गर्दैआएका छन् । कांग्रेस नेताहरूसंगको पहुँच देखाएर यातायात कार्यालयहरूको सुधारमा लागेका भट्टराईलाई हतोत्साही बनाउन खोजेका भ्रष्ट घिमिरे कांग्रेसको पराजय हुने देखेपछि रातारात चोला फेरेर एकाएक एमाले नेता महेश बस्नेतलाई चाकरी गरी एमाले नै भएको भन्न पुगेका छन् ।
अनोज घिमिरेलाई २३ बर्षदेखि यातायातमा बसेकाले गएको असोज १४ मा स्थानीय तहको डोल्पा जिल्लामा सरुवा भएको थियो । तर उनले १० लाख घुस खुवाएर सरुवा थमौती गरी जगाते यातायातमै थमौती भएका छन् । अनोज घिमिरेले अहिले पनि जगाते यातायात कार्यालयको निमित्त प्रमुखको रुपमा फेल भएकालाई १ लाख रुपैयाँसम्म घुस खाएर सवारी अनुमतिपत्र दिने गरेको आरोप छ । निर्भय प्रसाई जोन भन्नेको ड्राइभिङ इन्ष्टिच्युटले फेल भएकाहरूसँग घुस बार्गेनिङ गर्ने काम गर्दैआएको छ ।
अनोज घिमिरेले जगातेको प्रमुखमा सरुवा भएपछि निर्भय प्रसाईको इन्ष्टिच्यूट पनि उतै खोल्न लगाएका हुन् । अनोज घिमिरेले मङ्सिर २७ गते बुधबार महेश बस्नेतलाई खादा लगाएर बधाइ मात्र दिएका छैनन् । युवानेता महेश बस्नेत हार्दिक बधाइ देशले तपाईको नेतृत्व खोजेको छ भनेर लेख्न समेत भ्याएका छन् । उनको फेसबुकवालमा महेश बस्नेतको चाकरी गरेको स्टाटस राखेपछि प्रमोद वाग्लेले ‘पार्टी प्रवेश नै ग¥या हो ?’ भनेर प्रश्न गरेका छन् । हिजोसम्म कांग्रेसको आडमा भ्रष्टाचार गरेका घिमिरेलाई वाग्ले जस्तै धेरैले पार्टी छोड्या हो, कांग्रेसबाट एमालेमा प्रवेश ग¥या हो भन्दै प्रश्नको बर्षा नै गरेका छन् । (२०७४ पुस ३ गतेको साँघु साप्ताहिकबाट)