माओवादी केन्द्रका मन्त्रीहरुको लाजमर्दाे अभिनय, अनौठो देखियो प्रचण्डको नीति

माओवादी केन्द्रका मन्त्रीहरुको लाजमर्दाे अभिनय, अनौठो देखियो प्रचण्डको नीति
राजनीति

माओवादीका १६ जना मन्त्रीले देशमा गम्भीर राजनीतिक, संवैधानिक तथा नैतिक संकट सिर्जना गरिदिएका छन् । यी १६ जना मन्त्रीको तन मन्त्रिमण्डल बाहिर छ तर तलब चाहिँ खल्तीभित्र छ । १६ मन्त्री कुनै काम गर्दैनन्, सिंहदरबार पनि जाँदैनन्, मन्त्रिमण्डलको वैठकमा सहभागी पनि हुँदैनन् । यिनको सिर्फ एउटा काम छ, तलब बुझ्ने ।

नेकपा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय माओवादी केन्द्रले गरेपछि उसले आफूलाई प्रतिपक्षी पार्टीका रुपमा रुपान्तरण गर्दै गयो । कांग्रेससँग दूरी पनि बढ्दै गयो । कांग्रेस र माओवादीबीच सम्बन्ध यति तिक्त भयो कि उनीहरु सँगै बस्न नसक्ने भए । त्यसपछि माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा लागे । तर, संविधानले छेक्यो । चुनाव घोषणा भइसकेको अवस्थामा माओवादी मन्त्रीहरुलाई निकाल्ने कुनै कानुनी तथा संवैधानिक बाटो थिएन । माओवादीले पनि सरकार नछाड्ने, देउवासँग निहु खोजेर बस्ने नीति लियो । त्यसपछि देउवाले उपाय निकाले, माओवादीका सबै मन्त्रीलाई बिना विभागीय बनाइदिने ।

अहिले माओवादीका १६ जना मन्त्री बिना विभागीय छन् । यीमध्ये कृष्णबहादुर महरा उपप्रधानमन्त्री हुन् । गिरिराजमणी पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल केवट, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार थारु मन्त्री छन् । त्यसैगरी मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र वाङदी शेर्पा राज्यमन्त्री छन् । माओवादीले सरकार नछाडि मन्त्रिमण्डलमा पनि बस्ने र प्रतिपक्षी पनि बन्ने नीति एकसाथ अख्तियार गरेकाले उनीहरु देउवा मन्त्रिमण्डलका सदस्य हुन् । अधिकांशले सुरक्षा सुविधा पनि लिइरहेका छन् । सबैले तलब भत्ता र सुविधा पनि लिइरहेका छन् । कसैले पनि काम नगरी तलब सुविधा लिन्न भनेका छैनन् ।

देउवाले सुरुमा उनीहरुलाई राजीनामा दिन भनेका थिए, तर, मानेनन् । अहिले अवस्था यस्तो आएको छ कि देउवाले चाहे भने यी काम बिना तलब भत्ता खाने मन्त्रीहरुलाई निकाल्न सक्छन् । संविधान कानुनले छेक्दैन । जस्तो कि गत साता प्रधानमन्त्री देउवाले राप्रपाका मन्त्री दिलानाथ गिरीलाई पदमुक्त गरेका छन् । गिरीलाई नै जसरी माओवादी मन्त्रीहरुलाई पदमुक्त गर्न सकिन्छ । देउवाले चाहेका भए दोस्रो चरणको चुनाव सकिएको मंसिर २१ कै रात निकाल्न सक्थे । तर, उनले भविष्यमा माओवादीसँग तालमेल गरेर सरकारमा टिक्न सकिन्छ कि भन्ने हेरे । टिक्न नसकिए पनि माओवादीसँगको सहकार्य विस्तार गरेर कांग्रेसलाई सरकारमा राख्न सकिन्छ कि भन्ने हेरे । त्यसैले मंसिर २१ यता पनि माओवादीका १६ भाईबहिनीको तलबभत्ता पाकिरहेको छ ।

नेपालको इतिहासमा कुनै काम नगरी यति लामो समय सरकारी तलबभत्ता खाने काम सम्भवत पहिलो पटक भएको हो । अहिले पनि प्रधानमन्त्री देउवा माओवादीका यी मन्त्रीहरुलाई निकाल्न तयार छैनन् । देउवाले अनेक अत्तो थापेर र उपाय लगाएर आफ्नो प्रधानमन्त्री पदको आयु लम्ब्याइरहेका छन् । देउवाले कमसेकम आउँदो फागुन पहिलो सातासम्म पद नछाड्ने लक्षण देखाएका छन् । त्यसपछि पनि उनले कुनै अत्तो थाप्ने या उपाय निकाल्ने आशंका गरिएको छ । अर्थात्, देउवाको पदीय आयु जति लम्बिँदै जान्छ, माओवादीका मन्त्रीहरुले पनि बिना काम तलब भत्ता थापिरहने छन् ।

अहिले राजनीतिक रुपमा माओवादी केन्द्र एमालेको आधा अंग भइसकेको छ । माओवादी र एमालेका नेताहरुको भनाई सत्य सावित हुने हो भने यी दुई पार्टी एकीकृत हुँदैछन् । अर्थात्, अहिले दुई मध्ये एक पार्टीले विष खाए पनि अमृत खाए पनि दुवैलाई असर गर्छ । अवस्था यस्तो छ तर उता माओवादीका मन्त्रीहरु भने सरकारभित्र गजधम्म परेर बसिरहेका छन् । बाहिरी रुपमा चाहिँ उनीहरु सरकारमा नभए झैं अभिनय गरिरहेका छन् । सरकारको खोइरो खनेर विरोध पनि गरिरहेका छन् । माओवादीका मन्त्रीहरुले सरकारमा बसेर सरकारमा छैनौं भन्दै गरिरहेको अभिनय उदेकलाग्दो भएको छ ।

माओवादी मन्त्रीहरुले त यस्तो व्यवहार गरेका छन् नै, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवहार झन उदेकलाग्दो छ । उनी नेपाली कांग्रेसको रवैया र कार्यशैलीको विरोध गर्छन् तर सरकारको छिरिक्कै विरोध गर्दैनन् । अहिले देउवा अनेक तिकडम गरेर सरकारमा बसिरहेका छन् तर देउवाले छाड्नुपर्यो भनेर प्रचण्ड दवाब दिँदैनन् । पहिले माओवादीको तर्क थियो, हामीले सरकार छाड्यौं भने देउवाले चुनाव नगराउन सक्छन्, चुनाव रोक्न सक्छन् । त्यसबेला देशका सामु मुख्य कार्यभार चुनाव थियो, चुनाव गर्न वाध्य बनाउन सरकारमा बसेको भन्ने तर्क पत्याउन जनता वाध्य थिए ।

अहिले देशका सामु मुख्य कार्यभारी देउवाको बहिर्गमन र वाम सरकार गठन हो । देउवाले ठाउँ खालि नगरिदिँदा वाम सरकार बन्न सकेको छैन् । माओवादीले सरकार छाडेको घोषणा गर्ने हो भने पद त्याग गर्न देउवालाई ठूलो दवाब पर्ने आकलन गरिएको छ । तर, यो पक्षमा सुनुवाई गर्न न प्रचण्ड तयार छन्, न बिना काम तलब भत्ता र सुविधा पाइरहेका माओवादीका मन्त्रीहरु तयार छन् ।

( २०७४ पुस २४ गतेको साँघु साप्ताहिक)

Post Comment