नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले आज आफ्नो राजिनामा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएका छन् ।
सरकारमा गएको आठ महिनापछि माओवादीका मन्त्रीहरु सामूहिक राजिनामा गर्दै सरकारबाट बाहिरिएका हुन् ।
माओवादीका सबै मन्त्री र राज्यमन्त्रीका तर्फबाट मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि उनीहरुले आफ्नो राजीनामा पत्र पार्टी कार्यालयमा बुझाएका थिए । पार्टी बैठकपछि मन्त्री पोखरेल मन्त्रिपरिषदबाट फिर्ता आउने अध्यक्ष पुष्पकमल दाहालको पत्र लिएर सिंहदरवार पुगेका थिए ।
सरकारमै रहेर विपक्षी एमालेसँग चुनावी गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय हैसियतमा झारिदिएका थिए ।
बिना विभागीय भइसकेपछि पनि विभिन्न बहानामा माओवादीका मन्त्रीहरु सरकारमै रहेर कामै बिना तलब भत्ता बुझिरहेका थिए । यसको सर्वत्र आलोचना भएपनि माओवादी मन्त्री फिर्ता गर्ने निर्णयमा पुगेको हो ।