एमाले र माओवादी एक–अर्काका पुरक :‘प्रचण्ड’

एमाले र माओवादी एक–अर्काका पुरक :‘प्रचण्ड’
राजनीति

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको उल्लेख गर्दै अहिले आएर एमाले र माओवादी एकता लाग्दा प्रतिक्रियावादीहरु आत्तिएको दाबी गरे।

माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘केही साथीहरु एकताको विरोध गर्दै हुनुहुन्छ, त्यसको कुनै औचित्य छैन। जनताले एकता चाहेका छन्, एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्।’

प्रचण्डले थपे, ‘जनता खुसी हुँदा उहाँहरु किन निरास हुनुभयो? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ? मैले बुझ्न सकेको छैन। आफू लागेका विषय खुल्ला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्ने चाहिँ क्रान्तिकारी हुन सक्दैन।’

समान राजनीतिक कार्यदिशा भएपछि अलग–अलग पार्टीको अस्तित्व राख्नु उचित नहुने भन्दै उनले भने, ‘हामीले माओवाद छोडेका छैनौं, उहाँहरुले पनि जनताको बहुदलीय जनवाद छोड्नुभएको छैन, नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ। एकले अर्काको पूर्ण सम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर हामी अघि बढ्छौं। यसमा कसैले शंका गर्नु पर्दैन।’

Post Comment