अन्ततः मधेशवादी दल र नेपाली काँग्रेसबीच राष्ट्रिय सभाको सिट बाँडफाँड गर्ने सहमति बनेको छ ।
सोमबार साँझ काँग्रेससँग ६ वटा सिटमा तालमेल गर्ने मधेसवादी दलले सहमति गरेका हुन् । प्रदेश नम्बर २ मा आठ वटा सिट रहेका छन् । जसमध्ये तीन दल मिले ६ वटा सिट जित्ने सम्भावना रहेको छ ।
यसअघि, काँग्रेसले आफूले माग गरे अनुसार पाँच सिट दिन तयार नभएपछि मधेशवादी दलले आज बाम गठबन्धनसँग राष्ट्रिय सभामा सिट तालमेलका लागि छलफल अघि बढाएको थियो ।
बाम गठबन्धन मधेशवादी दललाई ६ सिट दिन तयार भए पनि संविधान संशोधनको विषयमा कुरा नमिलेपछि बाम गठबन्धनसँग तालमेलमा कुरा मिल्न सकेन ।
यही विषयलाई लिएर राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच वार्ता बसिरहेको बेला काँग्रेस नेता मिनेन्द्र रिजाल दुई मन्त्रीसहित बैठक स्थलमा पुगेका थिए ।
त्यहाँ पुगेर रिजालले दुई दुई सिटमा सहमतिको प्रस्तावअघि सारेका थिए । जसमा मधेसवादी दलले सिट छानेपछि मात्र काँग्रेसले सिट लिने अफर समेत रिजालले अघि सारेका थिए । जसमा मधेशवादी दलले सहमति जनाएका थिए ।
सहमति अनुसार फोरमले दलित र महिला सिट लिने भएको छ ।
राजपामा भने कुन सिट लिने विवाद रहेको छ । राजेन्द्र महतोले एक महिला सिट लिनुपर्छ भनिरहेका छन् भने महेन्द्र राय यादव अल्पसंख्यक र खुला लिनुपर्छ भन्ने पक्षमा रहेका छन् ।
यदी राजपाले खुला र अल्पसंख्यक लिए खुलाबाट दीपेन्द्र झा र अल्पसंख्यकबाट वृशेष चन्द्रलाललाई उम्मेदवार बनाउने सम्भावना रहेको छ ।