सुष्मा स्वराज नेपाल भ्रमणको एजेन्डा के ?

सुष्मा स्वराज नेपाल भ्रमणको एजेन्डा के ?
राजनीति

 भारतीय विदेश मन्त्री सुष्मा स्वराज राजनीतिक भ्रमणका लागि आज काठमाडौं आउँदै छिन् ।

विशेष विमानबाट अपराह्न साढे ३ बजे काठमाडौं आइपुग्ने विदेशमन्त्री स्वराजले नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

भारतीय विदेश मन्त्री स्वराजको भ्रमणका एजेन्डा भने अझै तय भइसकेका छैनन् । परराष्ट्र मन्त्रालयले आजै एजेन्डा तय गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री समक्ष अहिलेसम्म अघि बढेका दुई पक्षीय परियोजना, सीमा विवाद समाधान, डुवान समस्या, सडक सञ्जाल, रेलमार्ग, सीमा अपराध नियन्त्रण, प्रबुद्ध व्यक्ति समूहको बैठकका प्रगतिलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

भारतीय विदेश मन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछिन् ।

राजनीतिक भेटघाट हुने भएकाले स्वराजको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

यो भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारीको रुपमा समेत हेरिएको छ । विदेश मन्त्री स्वराज भोलि दिउँसो ४ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

Post Comment