आइतबार माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय नेता पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न पुगे । एमाले–माओवादीबीचको एकताको कोर्ष कहाँ पुग्यो भन्ने प्रश्न लिएर प्रचण्डनिवास पुगेका विद्यार्थी नेताले फर्कदा त्यसको राम्रै जवाफ पाए । र, एकता हुन्छ–हुन्न अर्को प्रश्न लिएर फर्किए ।
प्रचण्डले निकाले राष्ट्रपतिसँगको भेटको प्रशंग
विद्यार्थी नेताहरु समक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको ६ घन्टे लन्च मिटिङको प्रशंग निकालेका थिए । राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै भनेको प्रशंग निकाल्दै प्रचण्डले विद्यार्थी नेतासँग भने, ‘राष्ट्रपतिज्यूले ओलीजीलाई तपाईं प्रधानमन्त्री बन्नुस्, प्रचण्डजीलाई पार्टी अध्यक्ष दिनुस् र मिलेर जानुस् भन्नुभयो ।’ भेटमा सहभागी एक विद्यार्थी नेताका अनुसार दुवै नेताले फागुनमा बैठक बसेर सहमति खोज्ने आश्वासन राष्ट्रपतिलाई दिएको प्रचण्डले जानकारी गराए ।
एकता भाँड्न बाह्य शक्तिको हात
विद्यार्थी नेता समक्ष प्रचण्डले एमाले–माओवादी एकता भाँड्न बाह्य शक्ति लागिपरेको बताएका थिए । एकताको कोर्ष अघि बढाउनु पर्यो, होइन भने पार्टीलाई कसरी सुरक्षित पार्न सकिन्छ नेतृत्वले त्यसतर्फ ध्यान दिनुपर्यो भन्ने विद्यार्थी नेताको सुझाव सुनेपछि प्रचण्डले ओलीमार्फत बाह्य शक्तिले पार्टी एकता हुन नदिन ठूलै चलखेल गरेको ब्रिफिङ गरेका थिए ।
‘पार्टी एकताप्रति अध्यक्षज्यू निकै सकारात्मक हुनुहुन्छ, उहाँ आजको भोलि पार्टी एकता गर्न परे पनि तयार हुनुहुन्छ तर, एकता भाँड्न विभिन्न पक्षले चलखेल गरेका कारण ढिला भइरहेको हामीले बुझ्यौँ,’ भेटमा सहभागी ती विद्यार्थी नेताले भने, ‘यसमा सायद ओली कार्डको प्रयोग भएको हुनुपर्छ ।’
भेटमा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, विजय गौतम र पञ्चा सिंहको सहभागीता थियो ।