एमाले भित्र ओली आतंक :माधव नेपाल पक्ष हिस्स

एमाले भित्र ओली आतंक :माधव नेपाल पक्ष हिस्स
राजनीति

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री चयनमा गुटबन्दी चलाएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएका छन् ।

शुक्रबार प्रदेश नम्बर १ र ३ मा निर्वाचनमार्फत संसदीय दलको नेता छानेको एमालेले ओली पक्षले जितेको भन्दै नेपाल पक्षले आपत्ति जनाएको हो ।

प्रदेश नम्बर १ मा ओली पक्षका शेरधन राई विजय भएका छन् भने प्रदेश नम्बर ३ मा पनि ओली गुटकै डोरमणि पौडेल विजयी भएका छन् । राईले कुल ५१ मतमध्ये २६ र उनका निकटतम प्रतिद्वन्द्वी एमाले सचिव भीम आचार्यले २४ मत प्राप्त गरे । निर्वाचनमा १ मत बदर भएको थियो ।

चुनावमा पराजित भएपछि आचार्यले राईलाई सहयोग गर्न आफू तयार रहेको प्रतिक्रिया दिए । तर नेपाल पक्षका केही असन्तुष्ट कार्यकर्ताले ओली गुट मौलाएको र पार्टी ओलीले एकलौटी निर्णयले चलाएको आरोप लगाए । मकवानपुरका पौडेलले नेपाल पक्षधर नेत्री अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका थिए ।

कूल ५८ मतदाता रहेको एमाले प्रदेशसभा दलमा पौडेलले ३४ मत पाए भने अष्टलक्ष्मी शाक्यले २४ मतमात्र पाइन् । मुख्यमन्त्री हुने पक्कापक्की भएकी शाक्य ओली गुटकैकारण चुनाव हारेको स्पष्ट पारिन् । पार्टीमा आफूले गरेको त्यागको कुनै कदर नभएको भन्दै तीव्र असन्तुष्टी पोखेकी छन् ।

एमालेले पाएका ४ मध्ये नेपाल पक्षधर नेता मुख्यमन्त्री बन्ने सम्भावना यिनै दुई प्रदेशमा थियो, तर दुबै प्रदेशमा पराजित भए ।

एमालेले पाएको बाँकी दुईमध्ये प्रदेश–५ ओली पक्षधर नेता शंकर पोखरेल निर्विरोध प्रदेश सभा दलको नेता निर्वाचित भइसकेका छन् ।
निर्वाचन हुन बाँकी रहेको प्रदेश–४ मात्र हो । तर त्यहाँ नेपाल पक्षधर कुनै मुख्यमन्त्रीका दावेदार छैनन् ।

प्रदेश–४ मा मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गरिरहेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दुबै ओली पक्षधर नेता हुन् ।

Post Comment