संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अब मधेशी जनता ५ वर्ष अघिको जस्तो नरहेकोले कसैले हेप्न नसक्ने बताएका छन् ।
यादवले मधेशी जनता आफ्नो अधिकारका लागि ज्यान दिन तयार भइसकेको उदाहरण दिँदै अबका दिनमा मधेशी जनता अधिकारसँगै विकास निमार्णमा अगाडी बढ्ने बताएका छन् ।
प्रदेश नम्बर २ मा स्वास्थ्य, शिक्षा, सरसफाइको अवस्था नाजुक रहेको बताउँदै गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको समेत उनले बताए । विश्वमा नेपाल पछाडी रहेको त्यसमा पनि प्रदेश नम्बर दुई अझ पछाडी रहेकाले यस प्रदेशलाई अबका दिनमा विकास र समृद्धीतर्फ लैजानु पर्नेमा अध्यक्ष यादवले जोड दिए ।
गरिबी, बेरोजगारी, कम आय र अभावले जकडेको मधेशलाई देशकै सबैभन्दा समृद्ध प्रदेश बनाउन मधेशी जनता सक्षम रहेको उनले बताए । पहिले जस्तो विकास निमार्णको बजेट हिनामिना हुन नदिन सबै सचेत हुन समेत उनले आग्रह गरेका छन् । विकास बजेट कहाँ कति खर्च भयो जनताले जनप्रतिनिधीहरुसँग हिसाब माग्नु पर्ने सुझाव उनले दिएका छन् ।
उनले थपे, ‘होटलमा बसेर कागजमा विकास गरी गिलासले पिउने प्रथाको अन्त्य हुनुपर्छ ।’ मधेशमा जातीय धृणाको अन्त्य गर्न जरुरी रहेको बताउँदै अध्यक्ष यादवले २१ औं शताब्दीमा जातको भन्दा व्यक्तिको गुण र दोषको आधारमा अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।