एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा भागबण्डाको राजनीति गरेका कारण जनताले दुःख पाइरहेको बताएकमा छन् ।
मंगलबार विदुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले देशलाई अराजकताको भुमरीमा जाकेको आरोप लगाए । डा लोहनीले देश र जनताप्रति होइन, यसअघिका सरकारले आफ्ना परिवार, नातेदार तथा कार्यकर्ताको माया मात्रै गरेर सरकारी ढुकुटीबाट ठूलो रकम बाँड्ने र राजनीतिक नियुक्ति गरेका कारण गलत परिपाटी बस्न गएको बताए ।
उनले अब देशमा शिक्षा, स्वास्थ्य, सुरक्षा, न्याय तथा रोजगारीका लागि आन्दोलन गर्नुपर्ने स्थिति आएको पनि बताए । अध्यक्ष डा लोहनीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजसंस्था भएमा देशमा सन्तुलन कायम हुने बताए । उनले भने, ‘धर्म निरपेक्षताको नाममा देश अस्थिरतातर्फ बढेको छ । धर्म निरपेक्ष हटाउनुपर्छ । साथै, एउटा राजा हुनेमा अहिले सयौँ राजा बनेर देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् ।’
कार्यक्रममा अतिथिको रुपमा उपस्थित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालका दल तथा तिनका नेताहरुमा जनताप्रति उत्तरदायी हुने भावना नभएकै कारण देशमा विभिन्न समस्या सिर्जित भइरहेको बताए ।
सो दलका महामन्त्रीद्वय श्याम तिमिल्सिना, भरतजंग उप्रेती, सहप्रवक्ता जनकराज पाठक, केन्द्रीय सदस्यद्वय गोकर्ण सिटौला र झनक प्याकुरेलले देशमा संक्रमणकाल अन्त्यका लागि राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नरहेको बताए ।