प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित कसैले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी नदिएपछि वाम गठबन्धनका उम्मेदवार तथा बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ निर्विरोध निर्वाचित हुने भएका छन्।
राष्ट्रपतिका लागि कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको कांग्रेसले उपराष्ट्रपतिमा उम्मेदवार नदिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेल बताए।
उपराष्ट्रपतिका लागि आज दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय थियो।
उम्मेदवारीको दावी विरोधमा उजुरी दिने समय आइतबार दिउँसो २ बजेसम्म भएकोले पुन निर्वाचित भएको घोषणा भने अहिले नै निर्वाचन आयोगले गर्ने छैन।
उम्मेदवारले नाम फिर्ता लिने समय आइतबार साढे ५ बजे सकिएपछि बल्ल निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २३ बमोजिम आइतबार ६ बजे अन्तिम नामावली प्रकाशन गर्नेछ।
ऐनको दफा २४ मा एक जना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी घोषणा गर्ने प्रावधान छ।