नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले दुईपक्षीय वार्तापछि हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरिरहँदा भारतका धेरै टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।
नेपालका प्रधानमन्त्री आलीले भारत भ्रमण गर्दा यहाँका टेलिभिजनले ठूलो महत्व दिएर प्रत्यक्ष प्रसारण नै गरेको दृष्यले नेपाली दूतावासका अधिकारीहरु पनि अचम्म मानिरहेका थ्एि ।
भारतका राष्ट्रिय अखबारमा बिरलैमात्र नेपालका प्रधानमन्त्रीको भारत भ्रमण मुख्य समाचार बन्ने गर्छन् । यसपटक ओली दिल्ली नआउँदै दुई चर्चित भारतीय पत्रिका टाइम्स अफ इण्डिया र दि हिन्दूले लामो अन्तर्वार्ताबाट शुरु गरेको समाचार कभरेज निरन्तर चलिरहेको छ ।
आइतवारका भारतका अधिकांश राष्ट्रिय पत्रिकामा मोदी, ओली वार्ता र नेपाल भारत कनेक्टिभिटी तथा आर्थिक विषयमा भएका सहमति प्रमुख समाचार बनेका छन् ।
यहाँका टेलिभिजनले नेपाल र भारतका प्रधानमन्त्रीको पत्रकार सम्मेलनदेखि संयुक्त वक्तव्यलाई समेत प्राथमिकताका साथ समाचार बनाएका छन् ।
टाइम्स अफ इण्डियाले प्रथम पृष्ठमा ओली र मोदीले हात मिलाएको फोटासहित चीनबाट नेपाललाई बाहिर ल्याउन भारतले कनेक्टिभिटीका लाथि थप अफर गरेको दावीसहित समाचार बनाएको छ ।
नवभारत टाइम्स, दि हिन्दू लगायतका पत्रपत्रिकाले नेपाल राजनीतिक स्थिरतातर्फ अघि बढेपछि भारतले थप सहयोगको हात बढाएको टिप्पणी गरेका छन् ।
यहाँका टेलिभिजनहरुले ओली मोदी सम्झौतामा केन्द्रित रहेर नेपाल विज्ञहरुसँग स्टुडियोमा निरन्तर बहस चलाइरहेका छन् ।
त्यस्तै हिन्दुस्तान टाइम्सले नेपाल र भारतले रेल र जलमार्गका लाथि नयाँ ढंगले सम्झौता गरेर अघि बढ्न चाहेको कुरालाई प्राथमिकता दिएको छ ।