कांग्रेस सिंहले ओलीलाई दिए यस्तो चुनौती

कांग्रेस सिंहले ओलीलाई दिए यस्तो चुनौती
राजनीति

सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् ।

आज नेपाल प्रेस युनियन गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, ‘वर्तमान सरकारले श्वेतपत्र जारी गरी निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउने प्रयासमा लागेको छ ।’

कांग्रेसले लिएको अर्थ नीति गलत थियो भन्ने देखाउनका लागि श्वेत पत्र जारी गरिएको उनले दोहोर्‍याए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निरन्तरताबाहेक अरु केही नभएको सिंहले टिप्पणी गरे । ‘प्रधानमन्त्रीको भारत भ्रमण पहिले–पहिले पनि हुने गरेकाले यसलाई चमत्कारको रुपमा बुझ्न जरुरी छैन,’ सिंहले भने, ‘यसपटक भएका कुरा कार्यान्वयन गराउन सकेमात्र उपलब्धिमुलक मान्न सकिन्छ ।’

कांग्रेस विधिसम्मत चल्न नसक्दा र लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्न नसक्दा नै निर्वाचनमा हारेको भन्दै उनले अब व्यापक सुधारको आवश्यकता औंल्याए ।

‘कांग्रेसलाई विधिसम्मत चलाउन सकेमा र सुधार गर्दै जान सकेमा मात्र कम्युनिस्ट गठबन्धनसँग प्रतिस्पर्धामा जान सकिन्छ,’ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले दुई महिनामा गर्नुपर्ने पदाधिकारी नियुक्ति अब गरेमा बिधानबिपरित हुने भएकाले आफूहरुलाई स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

पार्टीमा सुधार होस् भनेर आफूले यी सब कुरा गरेको भन्दै उनले यसलाई विरोध गरेको भनेर नबुझ्न आग्रह गरे । पार्टी कार्यकर्ताहरुलाई निराश नभइ संगठन सुधारमा लाग्न उनले निर्देशन दिए ।

गुल्मी कांग्रेसले बैशाख १ गतेबाट सुरु गर्न लागेको ‘गाउँ जाऔं, गाउँमै रमाऔं,’ अभियानमा सक्रियतापूर्वक सहभागि हुन उनले सबै नेता–कार्यकर्ताहरुलाई आग्रहसमेत गरे

Post Comment