नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६९ औं स्थापना दिवसलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार एकै ठाउँमा कार्यक्रमको आयोजना गरेर मनाउँदै छन् । एकताको सन्देश दिने उद्देश्यका साथ एकै ठाउँमा कार्यक्रम तय गरिएको हो ।
पार्टी एकता संयोजन समितिको आयोजनामा स्थापना दिवसको कार्यक्रम राष्ट्रिय सभागृहको सभाहलमा गर्न लागिएको हो । दिउँसो १२ बजे हुने कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् ।
पार्टी एकताका विषयमा केही दिनदेखि निरन्तर वार्तामा रहेका अध्यक्षद्वयले आइतबारको कार्यक्रमबाट पार्टी एकता घोषणाको मिति सार्वजनिक गर्ने सम्भावना रहेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
वैशाख ९ मा एकता सम्भव नभएपछि दुई दलबीच नयाँ मितिका बारेमा छलफल चलिरहेको छ । वैशाख १८ मा पर्ने मजदुर दिवस र कार्ल माक्र्स जन्मेको दिन वैशाख २२ का बारे छलफल केन्द्रित भएको छ ।
तत्कालीन जहाँनिया राणा शासनविरुद्ध आन्दोलन चलिरहेका बेला विसं २००६ वैशाख ९ गते (अप्रिल २२, १९४९) कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतीय भूमि कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको थियो । नेता श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ र निरन्जनगोविन्द वैद्य पार्टीको संस्थापक थिए । तर, अहिले संस्थापकमध्ये कोही पनि जीवित छैनन् ।
दुई दलबीच पार्टीको संरचनागत कमिटीमा समानताको हिसाबले दुवै दलका नेताको प्रतिनिधित्व गराउने वा प्रतिशतको अनुपात गर्ने भन्ने विवाद कायमै छ । त्यस्तै, माओवादी केन्द्रले उठाएको जनयुद्ध शब्द नयाँ पार्टीको विधानको प्रस्तावनामा उल्लेख गर्ने या नगर्ने अर्को विवाद छ ।
त्यस्तै, नयाँ दलको चुनाव चिह्न सूर्य मान्ने या त्यसभित्र हसिया हथौडा राख्ने भन्ने विवादको विषय छ ।