देउवाले विश्वासघात गरेको भन्दै समर्थन फिर्ता लिएको घोषणा

देउवाले विश्वासघात गरेको भन्दै समर्थन फिर्ता लिएको घोषणा
राजनीति

कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिएको बताएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन प्रस्ताव गरेर जिताउन भूमिका खेलेका उनले दुई वर्षमा देउवाले विश्वासघात गरेको भन्दै समर्थन फिर्ता लिएको घोषणा गरेका हुन्, आजको नयाँ पत्रिकामा खबर छ ।

‘१३औँ महाधिवेशनमा उहाँ (शेरबहादुर देउवा) लाई सभापतिमा प्रस्तावक बसेको नाताले म अत्यन्त मर्माहत हुन पुगेको छु । अतः मैले देउवाजीलाई १३औँ महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुःखित हुन पुगेको छ ।’ केन्द्रीय समितिमा लिखित प्रस्ताव पेस गर्दै उनले भनेका छन्, ‘पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको परवाह नराखी मैले १३औँ महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरासमेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँदछु ।’

तत्कालीन कोइराला पक्षमा भए पनि गुरुङ देउवाको प्रस्तावक बनेका थिए । तर, दुई वर्षपछि उनले महाधिवेशन प्रतिनिधिसहितको विश्वास र मतलाई देउवाले अन्याय गरेको आरोप लगाएका हुन् । ‘देउवाजीले हाम्रो विश्वास र पार्टीको सिद्धान्तविपरीत पार्टीमा अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गर्नुभयो,’ उनले भनेका छन्, ‘पार्टी विधानबमोजिम दुई महिनाभित्र पदाधिकारी प्रस्ताव गरी मनोनयन गर्ने, विभागहरू गठन गरी पार्टीलाई परिचालन गर्ने कार्यमा सभापतिबाट पूर्ण रूपमा बेवास्ता भयो ।’

भ्रातृसंस्था परिचालन नभएको, स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगरपालिकामा पार्टीको सिद्धान्त, नीतिविपरीत कार्यसमितिलाई पनि छलेर देउवा सत्ताकेन्द्रित मोहमा पर्दै हँसिया हथौडामा भोट मागेको आरोप उनको छ । प्रधानमन्त्री बन्दा देउवाका क्रियाकलाप प्रभावकारी नभएको समेत उनले जिकिर गरेका छन् ।

महाधिवेशनमा देउवाले गुरुङलाई कुनै न कुनै पद दिने आश्वासन दिएका थिए । तर, दुई वर्षमा उनले कुनै पनि पद पाउन सकेनन् । गुरुङ ६४ निर्वाचित केन्द्रीय सदस्यमध्येका एक हुन् । पदाधिकारी प्रस्तावलाई अनुमोदन गर्न निर्वाचितको बहुमत चाहिन्छ । निर्वाचितमध्ये खुमबहादुर खड्काको निधनपछि अब ६३ सदस्य छन् । जसमा ३२ सदस्य आवश्यक पर्छ । गुरुङ र अर्का नेता चन्द्र भण्डारीले छोडेपछि देउवा पक्षमा अब ३४ केन्द्रीय सदस्य छन् ।

Post Comment