एमालेसँगको पार्टी एकीकरण र वाम गठबन्धनका लागि महत्वपूर्ण भूमिका खेलेका माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले आफू एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको बताएका छन् ।
नेता श्रेष्ठले यस्ता अनावश्यक कुराको भ्रममा नपर्न कार्यकर्ताहरूलाई आग्रह गरे । उनले आफ्नो बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए ।
‘निश्चित रुपमा मैले वाम गठबन्धन र पार्टी एकताका लागि पहल गरेको हुँ’, मंगलबार बिहान उनले भने, ‘निर्णायक पहल भने प्रचण्ड र केपी ओलीले नै गर्नुभएको हो । दुवै पार्टी एक हुँदैछ ।’ माओवादी नेता श्रेष्ठले भनेका छन्, ‘म कमरेड प्रचण्डकै टिमसँग एकतावद्ध छु । अन्यथा सोच्नुपर्ने आवश्यकता छैन ।’
‘जहाँसम्म म एमालेमा जाने भनिएको छ, त्यो सर्वथा झुट हो । त्यसरी सोच्नुपर्ने आवश्यकता पनि छैन’, उनले भनेका छन्, ‘मैले पार्टी एकताका लागि प्रचण्डलाई कुनै दबाब दिएको छैन । तर सहयोग गरिरहेको छु ।’ श्रेष्ठले एमाले र माओवादीबीच पार्टी एकता छिटै हुने दाबी पनि गरे ।
फरक–फरक पृष्ठभूमिका दलबीचको पार्टी एकता प्रक्रिया भएकाले केही ढिला हुनु स्वभाविक भएको श्रेष्ठको भनाई छ । एकताको मिति अहिले नै किटान गर्न नसकिए पनि छिटै एकता हुने उनको दाबी छ ।
पार्टी एकता लक्ष्यमुखी हुनुपर्ने भन्दै नेता श्रेष्ठले केही समय शक्ति सुदृढ गर्नका लागि गरिने एकताले जनतालाई केही पनि दिन नसक्ने बताए ।
उनले केही समय सरकार चलाउनका लागि मात्रै एकता हुन लागेको नभै देश र जनतालाई उपलब्धि दिनका लागि दुई दल मिल्न लागेको बताए ।
जनताको जीवन फेर्ने गरी अगाडि बढ्नका लागि समाजिक न्यायसहितको समृद्धि हासिल गर्नु नै अहिलेको लक्ष्य भएको श्रेष्ठले बताए । संविधानअनुसार समाजवादको बाटोतर्फ जाने गरी सैद्धान्तिक रुपमा दुई दलबीच एकता गरिने उनको भनाई छ ।
दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता भएकाले सम्मानजनक एकता हुनुपर्ने श्रेष्ठको भनाई छ । ‘लक्ष्यमुखी, सिद्धान्तनिष्ठ र सम्मानजनक एकता हुन्छ’, श्रेष्ठले भने ।
प्रधानमन्त्री पदलाई आलोपालो गर्ने कुरा आवश्यक नरहेको श्रेष्ठको भनाई छ । ‘वामपन्थी गठबन्धनका तर्फबाट एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा मात्रै हामी केन्द्रित र्छौँ ।’