नेपालको जमिनमा मात्रै होइन आकाश पनि भारतीय अतिक्रमणबाट मुक्त छैन । नेपाल आउने जहाजका लागि थप रुट दिन भारतले लामो समयदेखि आनाकानी गर्दै आएको छ । नेपालले चाहेको रुटबाट जहाजहरू नेपाल आउँन अनुमति नदिँदा नेपाली आकाशमै लामो समय विमान होल्ड गरी राख्नु पर्ने अवस्था छ भने कतिपय अवस्था भारतको कलकत्ता एयरपोर्ट लगेर ल्याण्ड गर्नुपर्ने अवस्था छ ।
नेपाल र भारतबिच ०६६ मा वार्ता भएदेखि नै नेपालले थप हवाई रुटको माग गर्दै आउँको छ । यदि नेपालले भने जस्तो हवाई रुट खुल्न सकेमा खाडी मुलुकबाट नेपालमा हुने उडानको दुरी छोटिने छ, भने भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ । सात वर्षपछि हुन वार्ताका भए पनि यसबारे अझै ठोस निकर्ष निस्किएको छैन ।
अहिले नेपाल आउने जहाजका लागि भारतले सिमरा रुटमा मात्र अनुमति दिँदै आएको छ । नेपालले अहिलेको नेपालगन्ज, जनकपुर र नेपालगन्ज महेन्द्रनगर रुट खोल्नका लागि प्रस्ताव गरेको छ । यसका लागि सन् २०१६ को डिसेम्बरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वका वार्ता गर्न एक टोली भारत गएको थियो । वार्तामा भारतले सैद्धान्तिक रूपमा ती रुटहरू दिने जस्तो सहमति गरेको भए पनि अहिलेसम्म व्यवहारमा भने लागू हुन सकेको छैन ।
निर्माणाधिन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पर्ने प्रदेश नम्बर ५ को संसद् बैठकलाई वुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशको अधिकार लिने र विमानहरू चलाउन समस्या परेको बताए । भारतले अहिलेसम्म जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टी जाहेर गरेका हुन् । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’
प्रधानमन्त्री ओलीको यो भनाइले पनि स्पष्ट पार्छ कि भारतले नेपाललाई हवाई रुट दिन आनाकानी गर्दैछ । नेपाल भारतबिच एयर स्पेस एग्रिमेन्ट (एएसए) सम्झौता नभए नेपालमा बन्दै गरेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जहाजहरू उडान अवतरणको गर्न नपाउने निश्चित छ । भारत अन्ततः थप तीन रुट खोल्नका लागि अनुमति दिने सैद्धान्तिक सहमति २०१६ को डिसेम्बरकै वार्तामा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्व निकम्मा बन्दा सहमति कार्यान्वयन हुन नसकेको कतिपयको भनाई छ । जसलाई प्रधानमन्त्रीले सार्वजनिक रूपमै असन्तुष्टी जाहेर गर्नुपरेको छ ।
सन् २०१६ को डिसेम्बरमा भएको वार्तामा भारतले सैद्धान्तिक सहमति गरेर पनि व्यहारिक रूपमा कार्यान्वयनका लागि प्राधिकरणले सेफ्टी एसिसमेन्ट गर्नु पर्ने थियो तर प्राधिकरणको नेतृत्व गरिरहेका महानिर्देशक सन्जीव गौतमले भारतीय पक्षसँग समन्वय गरेर सेफ्टी एसिसमेन्ट नगरेको कारण पनि हवाई सम्झौता व्यवहारिक रूपले कार्यान्वयन हुन सकेको छैन ।
त्यसो त आकाश सुरक्षााका लागि नेपाली प्रशासन पनि गम्भीर देखिएको छैन । नेपालको सिमावर्ती क्षेत्रमा जासुसी गर्न जुन कुनै हेलिकप्टर वा जहाजहरू पनि आउन सक्छन् । तर नेपाली पक्षलाई नेपालको भूभागमा कसले जासुसी गरिरहेको छ त्यसबारे केही जानकारी हुँदैन । नेपाली आकाशमा भारतीय जासुसी विमानहरू बिना अनुमति नेपाल छिर्ने गरेको उदाहरणहरू प्रशस्त छन् । तर नेपाली प्रशासनलाई नेपालको आकाशमा के कस्ता गतिविधि भइरहेका हुन्छन् त्यसको बारे केही जानकारी हुँदैन । हवाई क्षेत्रको नियमन गर्नु पर्ने निकाय नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले तदारुकता देखाउँन नसक्दा प्रधानमन्त्री स्वयम् असन्तुष्टी पोख्नु पर्ने अवस्था आएको छ ।
जमिनमा सधैँको हस्तक्षेप, पुर्नवासमा फेरि भारतीय ताडव
नेपाल भारत सिमानामा नेपाली जमिनमा भारतले निरन्तर हस्तक्षेप गर्दै आइरहेको छ । अहिले पनि भारतको हस्तक्षेप जारी नै छ । यही क्रममा कञ्चनपुरको पुनर्वासमा फेरि भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको छ । पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तरबार लगाउन खोजेका थिए । तर, नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तरबार भारतीय पक्षले निकालेर फालिदिएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट सयौँको सङ्ख्यामा आएका सुरक्षाकर्मीले नेपाली पक्षले लगाएको तरबार निकालेर फालेको हो । पुनर्वास नगरपालिका–९ बीचफाँटामा स्थानीयले आठ–आठ हजार रुपैयाँ उठाएर नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तरबार लगाउन थालेका थिए । २९ सय मिटरसम्म तरबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन खोज्दा एसएसबीले एक्कासि अवरोध गरेको हो ।
कहिलेसम्म सहने यो अत्याचार, बोल्ने को ?
बषौँदेखि भारतको हेपाहा र मिचाहा प्रवृत्तिबाट प्रताडित छ नेपाल । यो सत्य हो । सिमानामा भारतीय सुरक्षा बलको दमनकारी प्रवृत्ति उस्तै छ ।
२०७३ फागुनमा कञ्चनपुरको पुनर्वास ८ मा कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गौतम मारिए । सो घटनापछि पनि सीमावर्ती क्षेत्रमा भारतीय पक्षको ज्यादती घटेन । त्यसपछि पनि बारम्बार सीमामा भारतीय पक्षको दमन चलिरह्यो ।
हालै सोही भूभागमा नेपाली पक्षले आफ्नो भूमितर्फ तारवार लगाउन खोज्दा भारतीय पक्षले बल प्रयोग गरी सो तरबार हटाएको छ । यो अत्यारको अर्को श्रृङ्खला हो । छिमेकी मुलुक भनेर परिचित भारतले नेपाल र नेपालीमाथि धेरै अत्याचार र दमन गरेको छ । तर देशको सरकार लाचार भइदिँदा चुपचाप सहन बाध्य छन् नेपाली । हुँदा हुँदा सिमानामा मात्रै होइन आकाशमा पनि भारत यस्तै अत्याचार गर्न चाहिरहेको देखिन्छ भने नेपाली अधिकारीहरू मौन समर्थन गरेर बसिरहेको जस्तो अवस्था छ ।
नेपाल भारत बिचको सीमा विवादले वषौँदेखि पीडित छन् नागरिक । हरेक पटक भारतले नेपाललाई सिमानाको विषयमा थिचोमीचिो गर्दै आएको छ । नेपालीहरूले सीमाको विषयमा आवाज उठाउँदा भारतीय पक्षले नेपालीहरूमाथि बल समेत प्रयोग गरेको दुखद उदाहरणहरू छन् । तर अहिलेसम्म सिमानाको विषय विवादित र अन्योल छ । सीमाङ्कनका लागि पिल्लर गाडिएका छन् । तर ती पिल्लर निश्चित सीमामा छैनन् । धेरै स्थानका सीमा ढालिएको छ भने कति हराइसकेका छन् । यही विषयमा जनताले बारम्बार गुहार्नुपरेको छ आफ्नै देशलाई, तर देश सुन्दैन । आफ्नो देशको भूगोल बचाउन नागरिक सीमामा लड्नुपर्ने मर्नुपर्र्नेे, यो कस्तो विडम्बना ।