भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
बैशाख २८ गतेदेखि हुने भारतीय प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका लागि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै हिजोदेखि मोदीको नागरिक अभिनन्दन हुने स्थल बाह्रबिघामा प्रवेश निषेध गरिएको छ ।
नेपाल–भारतको सीमामा साझा सुरक्षा रणनीतिअनुसार संयुक्त गस्ती तथा चेकजाँच सुरु गरिएको छ । नगरक्षेत्रमा झन्डै एक हजार सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । साझा सुरक्षा रणनीति बनाउन नेपाल–भारतका उच्च सुरक्षाकर्मीसँगै काउन्टर पार्टका सुरक्षा अधिकारीको ५ पटक संयुक्त बैठक भएको छ ।
प्रदेश नम्बर २ को आन्तरिक मामिला मन्त्रालयले अभिनन्दन कार्यक्रमका सहभागीलाई हेलमेट, झोला, मास्क वा अन्य कुनै प्रकारले अनुहार छोपेर प्रवेश गर्न नदिइने जानकारी दिएको छ । पानीको बोतलसम्म भित्र लैजान निषेध गरिएको छ । प्रदेश सरकार तथा जनकपुर उपमहानगरपालिका मोदीको नागरिक अभिनन्दन समारोहलाई भव्य बनाउन ५० हजार मानिस सहभागी हुने अनुमान गरिएको छ ।