राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
महतोले मोदीको भ्रमणका लागि आवश्यक तयारी भइरहेको भन्दै समस्या केही पनि नरहेका बताए ।
विगतमा विकासमा ध्यान नदिने तर अहिले मोदीको भ्रमणलाई लक्षित गरेर चाँही धमाधम विकास भइरहको बारे धमलाले प्रश्न गरेपछि महतोले पहिला पनि विकास भइरहेको छ तर मोदीको भ्रमणका लागि तत्काल गर्नुपर्ने कामहरु गरिएको बताए ।
मोदीको नागरिक अभिनन्दनका लागि नागरिककै सहभागि महत्वपूर्ण भएकाले सबैलाई उपस्थितीका लागि उर्दी जारी गरिएको महतोले बताए ।
“नागरिक अभिनन्दन भनेको नागरिककै उपस्थितमा हुनुपर्छ । त्यसैले नागरिकलाई जानकारी दिनुपर्छ । यो त दायित्व र धर्म हो ।” महतोले भने ।
मोदीको भ्रमणलाई लिएर जनताहरु निकै उत्सुक भएकाले व्यापक रुपमा सहभागिता हुने उनले दाबी गरे ।
“मोदीको नागरिक अभिनन्दनका लागि बाह्र विघा मैदान तयारी अवस्थामा छ । सबैलाई खुला गरिएको छ । प्रदेश नम्बर दुई र त्योभन्दा बाहिरका नागरिक पनि आउँछन् ।” उनले भने ।
प्रदेश नम्बर दुईमा मोदीले भ्रमण गर्दा उक्त प्रदेशको विकासमा टेवा पुग्ने उनले बताए । “उहाँ आएपछि विकासका केही योजना र प्याकेज घोषणा हुन्छ होला । मधेश र जनकपुरका लागि केही न केही त मोदीबाट घोषणा हुन्छ होला ।”