दुई दिने नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
तर, भेटवार्तामा मोदीले दुवै पार्टीका नेताहरुलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नगर्न सुझाएको स्रोतको दाबी छ । मोदीले अहिले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा नगर्न सुझाव दिएको राजपाका एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
नेपालको दुईदिने राजकीय भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर लगायतका अध्यक्ष मण्डलका सदस्यहरुसँगको भेटवार्तामा ओलीलाई नै साथ र समर्थन गर्न आग्रह गरेका थिए ।
भेटवार्ताको क्रममा समसामयिक राजनीति, दुई देशीय हित र सम्बन्ध, मधेशको अवस्था लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेटवार्तामा ठाकुरले भारतीय प्रधानमन्त्री मोदीलाई मधेशको विकास र समृद्धिका लागि विशेष प्याकेजको व्यवस्था गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।