नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले नेपालका सबै कम्युनिस्ट एकै ठाउँमा भए पनि काँग्रेसलाई कुनै पनि प्रकारका धक्का नलाग्ने बताएका छन् । नेपाल तरुणदल बाग्लुङको जिल्ला स्तरीय भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले काँग्रेस मालिकहरुको ज्याजदी विरुद्ध लड्ने पार्टी भएका कारण देशका सबै कम्युनिस्ट एकै ठाउँमा भए पनि कुनै असर नपर्ने बताएका छन् ।
‘हामी लोकतान्त्रिक समाजवाद आत्मसाथ गर्छौँ’ नेता पौडेलले ओली र प्रचण्ड आफुहरु दुई तिहाई निर्माण गरेर जनवादीकरण गर्नका लागि एकिकरण गरेको आरोप लगाए । पौडेलले ओलीले केही दिन पहिले दिएको दुई अध्यक्ष टेम्पो चलाउनका लागि नभएर जेट विमान चलाउनका भन्ने अभिव्यक्तिलाई टिप्पणी समेत गरेका थिए । उनले भने, ‘हाम्रा प्रधानमन्त्रीलाई एउटा कुरा थाहा रैनछ विमानमा पाईलट र कोपाईलट हुन्छ भन्ने, उनलाई यो कुरा पनि प्रष्ट पार्नका लागि जरुरी रहेको छ ।’
पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले प्रधानमन्त्रीको राष्ट्रवाद छताछुल्ल भएको बताए । मोदी भ्रमणको क्रममा पाइला पाइलमा नेपाली राष्ट्रियता तथा स्वाभिमानमाथि धावा बोलिँदा समेत ओली सरकार निरीह भएको नेता पौडेलले दाबी गरे । उनले काँग्रेस पार्टी भित्रको रोग पहिचान गरी सफल उपचार गरेर अगाडि बढ्न लागेको भन्दै अबको परिवेशमा पार्टी भित्र सोचाई बदल्न जरुर रहेको समेत बताए ।