नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद केवल देखावटी मात्रै भएको बताउनु भएको छ ।
नेपाल तरुण दल जिल्ला कार्य समिति बझाङद्वारा सोमबार आयोजित कार्यकर्ता प्रशिक्षण तथा भेला उद्घाटन समारोहमा बोल्दै शर्माले यस्तो बताउनु भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आँउदा राजस्थानी भेषमा सजिनु, एसियामा नै नाम चलाउन सफल नेपाली सेना र नेपाल प्रहरी हुँदाहुँदै भारतीय सेना नेपाल प्रवेश गर्न दिएको प्रसंग कोट्याउँदै शर्माले प्रधानमन्त्री ओलीको आलोचना गर्नुभयो । उहाँले आफ्नो पार्टी सरकारमा हुँदा सार्क सम्मेलनमा नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा गर्न सक्ने तर एक्लै भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा दिन नसक्ने कसरी भयो प्रश्नसमेत गर्नुभएको छ ।
फरक प्रसंगमा शर्माले ओलीको प्रशंसा गर्दै भारतले लगाएको नाकाबन्दीमा आफूहरुले विरोध नगर्नु ठूलो भूल भएको भन्दै त्यसबेला राम्रो भूमिका निर्वाह गरे पनि ओलीले भने राष्ट्रवाद केवल सत्तामा जानका लागि खेलिएको खेल भएको आरोपसमेत लगाउनुभयो ।
२०७१ सालमा नेपाली कांग्रेसले अडान लिँदा नेपाली जनताले संविधान पाएको तर ओलीको नाकाबन्दीको अडानले जनताबाट भोट पाएको र सत्तामा पुगेका तर जनताले भने केही पनि नपाएको गुनासो शर्माले गर्नुभयो ।