प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भव हुने र सम्भव बनाउनुपर्ने विषयमात्रै सरकारको नीति तथा कार्यक्रममा समेटिएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले असम्भव कुरा नसमेटिएको दाबी गरे । उनले सरकारको नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्यमा केन्द्रीत रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध र विकसित बनाउने संकल्प गर्दा हावादारी भनेर उडाउने प्रवृत्तिप्रति दुःख व्यक्त गरे । रामायणको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको प्रष्टिकरण दिए ।
प्रधानमन्त्री ओलीले नेपाल अहिले तेस्रो विश्वमा रहेको अवस्थामा पहिलो विश्वमा पुर्याउँछु भनेर संकल्पसमेत गर्न नपाइने हो भनेमात्र आलोचना गर्न विपक्षी दलहरुलाई आग्रह गरे । उनले नीति तथा कार्यक्रममाथि आम रुपमा सबैको सहमति देखिएको भन्दै प्रतिपक्षको धर्म निर्वाह गर्नेबाहेक कसैले आलोचना नगरेको दाबी गरे ।
प्रधानमन्त्रीको जवाफपछि आजै नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउन बाटो खुल्ने छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।