ज्ञानेन्द्रको सल्लाह बमोजिम कमल थापाले यस्तो गरे

ज्ञानेन्द्रको सल्लाह बमोजिम कमल थापाले यस्तो गरे
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाबीचको चिसिएको सम्बन्ध फेरि जम्न थालेको छ ।

ज्ञानेन्द्र र थापाबीच यहि महिनाका सुरुआत तथा वैशाखमा भएका केही भेटले सम्बन्धमा न्यानोपन आउन थालेको हो । जसको परिणाममा राप्रपाले बैठक डाकेरै ज्ञानेन्द्रको सल्लाहबमोजिमको निर्णय गर्न थालेको छ ।

ज्ञानेन्द्रसँग टाढिएर मन्त्री पदका लागि कम्युनिस्टहरूसँग गठबन्धन गर्न पुग्दा राप्रपा विभाजन भएपछि थापाको पार्टी स्थानीय, संघीय चुनावमा नराम्रोसँग पराजित भएको थियो ।

केन्द्रीय कार्य सम्पादन बैठकको निर्णयको १ नम्बरमा नै विभाजित राप्रपा एकीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जुन सुझाव ज्ञानेन्द्रले नै दिएका थिए । पशुपति शमशेरको राप्रपा प्रजातान्त्रिक, लोकेन्द्रबहादुर चन्द, राप्रपा राष्ट्रवादीलगायतसँग एकीकरण गर्नका लागि थापाले पार्टीका उपाध्यक्षहरू बुद्धिमान तामाङ, टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देनको कार्यदल गठन गरेका हुन् ।

यो कार्यदलले विभाजित राप्रपाहरूको एकीकरणका लागि सम्पर्क, समन्वय र छलफल चलाउने छ ।

पूर्वराजा ज्ञानेन्द्रले यसअघि नेपालका विभिन्न जिल्ला भ्रमणका क्रममा राप्रपा एकीकरण गरी राष्ट्रवादी कित्तामा उभ्याउनुपर्ने सुझाव दिएका थिए ।

ज्ञानेन्द्रका भरपर्दा बुद्धिमान तामाङ र टंक ढकाल कार्यदलमा छन् भने थापाका तर्फबाट राजेन्द्र लिङ्देन राखिएका छन् । अन्य राप्रपासँग ज्ञानेन्द्रको परामर्शका विषयमा ढकालले ब्रिफिङ गर्नेछन् । ज्ञानेन्द्र मन्त्रीपरिषदको अध्यक्ष रहँदा ढकाल एक पटक सञ्चार मन्त्री तथा प्रवक्ता र अर्को पटक स्थानीय विकास मन्त्री बनेका थिए ।

Post Comment